काठमाडौं, १२ असार । निर्वाचन आयोगले विभिन्न तहमा रिक्त पदमा उपनिर्वाचनको तयारी गरेको छ । आयोगले उपनिर्वाचनलाई लक्षित गर्दै नाम दर्ता गर्न छुट भएका व्यक्तिहरुलाई नामावली दर्ता गराउन अनुरोध गरेको छ ।
आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बुधबार एक विज्ञप्तिमार्फत उपनिर्वाचनको मिति घोषणा गर्ने तयारी भएकाले उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउन अनुरोध गरेका हुन् ।
मतदाता नामावली ऐन, २०७३ को दफा ४(२)(२) बमोजिम निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली दर्ता कार्य बन्द हुने व्यवस्था रहेकोले यथाशीघ्र छिटो नाम दर्ता गराउन विज्ञप्तिमा भनिएको छ ।
प्रतिनिधिसभा रुपन्देही क्षेत्र नम्बर ३ र गण्डकी प्रदेशसभा मनाङ क्षेत्र नम्बर १ (ख) रिक्त छ । रुपन्देही ३ मा राप्रपाका सांसद दिपक बोहराको निधन भएपछि रिक्त छ भने मनाङ क्षेत्र नम्बर १ (२) का प्रदेशसभा सदस्य दिपक मनाङे जेल गएपछि पद रिक्त छ । त्यस्तै, स्थानीय तहमा एक दर्जन बढी वडाध्यक्ष पद रिक्त छन् ।
गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीबीच रिक्त विभिन्न पदमा उपनिर्वाचनको मिति तोक्नेबारे छलफल गरेका थिए ।
