काठमाडौं, १३ असार । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिका र इजरायलको आक्रमणबाट इरानको नुक्लियर कार्यक्रमलाई खासै क्षति नभएको दाबी गरेका छन् । इजरायलसँगको युद्धविराम भएको दुई दिनपछि उनले पहिलो पटक सार्वजनिक रूपमा बोलेका हुन् ।
‘अमेरिकाले कुनै महत्वपूर्ण उपलब्धि हासिल गर्न सकेनन्, हाम्रो आणविक कार्यक्रममा खासै असर परेको छैन,’ उनलको भनाइलाई उद्वत गर्दै बीबीसीले लेखेको छ । साथै खामेनीले कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानले गरेको जवाफी कारबाहीलाई ‘ठूलो प्रहार’को संज्ञा दिए ।
यता अमेरिकाले भने इरानको आणविक क्षमतामा ठूलो क्षति पुगेको बताएको छ । अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले भने, ‘आणविक कार्यक्रमलाई उल्लेखनीय रूपमा क्षति पुर्याएको र यसलाई वर्षौं पछाडि धकेल्न सफल भयो ।’
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीनवटा मुख्य आणविक केन्द्रहरू ‘पूर्ण रूपमा ध्वस्त’ पारिएको दाबी गरेका थिए । तर केही अमेरिकी अधिकारीहरूले क्षति अपेक्षाअनुसार हुन नसकेको भन्दै गोप्य रूपमा उनको टिप्पणी गरेपछि ट्रम्प निकै रिसाएका थिए ।