काठमाडौं, १३ असार । इजरायलसँग हालैको १२ दिन लामो द्वन्द्वपछि इरानी अधिकारीहरूले दर्जनौं मानिसलाई विदेशी गुप्तचर संस्थासँग सम्बन्ध रहेको आरोपमा पक्राउ गरिरहेका छन् । पक्राउ परेका केहीलाई मृत्युदण्ड पनि दिइएको बीबीसीले जनाएको हो ।
इरानी अधिकारीहरूका अनुसार इजरायली गुप्तचर संस्था ‘मोसाद’ले इरानभित्र घुसपैठ गरेर संवेदनशील जानकारी लिएको थियो । यही जानकारीको आधारमा इजरायलले युद्धको समयमा इरानका सैन्य अधिकारी र आणविक वैज्ञानिकहरूको हत्या गरेको ती अधिकारीहरूको भनाइ छ ।
यो घटनापछि इरानले देशको सुरक्षाका लागि भन्दै जासूसी गरेको आरोपमा धेरै व्यक्तिहरूलाई कारबाही गर्न थालेको हो । युद्ध चलिरहेको बेलामा तीन जनालाई फाँसी दिइएको थियो भने युद्ध रोकिएको भोलिपल्ट थप तीन जनालाई मृत्युदण्ड दिइएको बीबीसीले उल्लेख गरेको छ ।
इरानी समाचार एजेन्सीका अनुसार जुन १३ देखि १२ दिनभित्र मात्रै करिब ७०० जना मानिसलाई इजरायलसँग सम्बन्ध रहेको भन्दै पक्राउ गरिएको छ । केही पक्राउ परेका व्यक्तिहरूको बयान राज्य टेलिभिजनमा देखाइएको छ, जसमा उनीहरूले इजरायली गुप्तचर संस्थासँग मिलेको स्वीकार गरेका छन् ।
तर मानव अधिकार संस्थाहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले जबरजस्ती स्वीकार गराइएको बयान र निष्पक्ष सुनुवाइ नभएको भन्दै आलोचना गरेका छन् ।
यसैबीच केही इरानी नागरिकले भने इजरायलसम्बन्धी सामाजिक सञ्जाल हेरेको भन्दै सरकारबाट चेतावनी सन्देश पाएको बताएका छन् ।
इरानी सरकारले विदेशी जासूस संस्था – जस्तै मोसाद, अमेरिकी सीआइए र बेलायती एमआइ ६ – विरुद्ध ‘निरन्तर युद्ध’ चलिरहेको दाबी गरेको छ ।
त्यसैगरी विदेशमा रहेका इरानी पत्रकारमाथि पनि दवाब बढाइएको छ । केही पत्रकारका परिवारलाई पक्राउ गरेर उनीहरूलाई काम छाड्न धम्की दिइएको छ ।