काठमाडौं, १८ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल गाजामा ६० दिनको युद्धविरामका लागि आवश्यक सर्तहरूमा सहमत भएको बताएका छन् । साथै यो युद्धविरामको समयमा अमेरिकाले सबै पक्षसँग मिलेर युद्ध अन्त्य गर्न प्रयास गर्ने ट्रम्पले बताएका हुन् ।
‘शान्ति ल्याउन धेरै मेहनत गरेका कतारी र इजिप्टियनहरूले यो अन्तिम प्रस्ताव प्रस्तुत गर्नेछन्, मलाई आशा छ, हमासले यो सम्झौता स्वीकार गर्नेछ, किनकि यो राम्रो हुनेछैन, यो झन् खराब हुँदै जानेछ,’ ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेखेका छन् ।
यता इजरायलले अहिलेसम्म औपचारिक रूपमा यस्तो प्रस्तावमा सहमति जनाएको पुष्टि नगरेको बीबीसीले उल्लेख गरेको छ । हमासले पनि कुनै प्रतिक्रिया दिएको छैन ।
ट्रम्पको यो घोषणा अर्को साता हुने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको बैठकभन्दा अघि आएको हो । उनले भने, ‘म भन्न सक्छु नेतन्याहु युद्ध अन्त्य गर्न चाहन्छन्, मलाई लाग्छ, हामी अर्को साता सहमतिमा पुग्न सक्छौं ।’
यसैबीच मंगलबार इजरायली रणनीतिक मामिला मन्त्री रोन डर्मरले मध्य पूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफ, अमेरिकी विदेशमन्त्री मार्को रुबियो र उपाध्यक्ष जेडी भान्सलाई वाशिंगटनमा भेट्ने कार्यक्रम थियो ।
इजरायलका संयुक्त राष्ट्र संघका राजदूत ड्यानी ड्याननले बीबीसीसँगको अन्तर्वार्तामा भनेका छन्, ‘हामी हमासमाथि दबाब दिइरहेका छौं, र यदि तिनीहरू वार्ताको टेबलमा आएनन् भने बन्धकहरूलाई फिर्ता ल्याउने एक मात्र विकल्प भनेको थप सैन्य दबाब लागू गर्नु हो ।’