‘सार्क ट्यांक नेपाल’ आजदेखि प्रसारण हुँदै

अनलाइनसमय |
१८ असार २०८२
‘सार्क ट्यांक नेपाल’ आजदेखि प्रसारण हुँदै

काठमाडौं, १८ असार । अन्तर्राष्ट्रिय स्तरमा चर्चित बिजनेस रियालिटी शो ‘सार्क ट्यांक’को नेपाली संस्करण ‘सार्क ट्यांक नेपाल’ आजदेखि प्रसारण हुँदैछ । हिमालय टेलिभिजनमा आज राति ९ बजेबाट पहिलो ‘एपिसोड’ प्रसारण हुन लागेको हो । प्रत्येक बुधबार र बिहीबार राती ९ बजे शो प्रसारण हुने जनाइएको छ ।

शोको ग्रान्ड प्रिमियर मंगलबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममार्फत सार्वजनिक गरिएको थियो । सो कार्यक्रममा ‘सार्क ट्यांक इन्डिया’का चर्चित लगानीकर्ता अमन गुप्ता प्रमुख अतिथि थिए । कार्यक्रममा नेपाली संस्करणको औपचारिक शुभारम्भ गर्दै व्यवसायी, लगानीकर्ता तथा सहभागीहरूलाई शोबारे जानकारी दिइएको थियो ।

‘सार्क ट्यांक नेपाल’मा व्यवसायिक आइडिया लिएर आएका उद्यमीहरूलाई लगानीकर्ता–सार्कहरूमाझ आफ्नो योजना प्रस्तुत गर्ने अवसर प्रदान गरिनेछ । योजना प्रभावकारी, सम्भावनायुक्त र आकर्षक लागेमा सार्कहरूले सो व्यवसायमा लगानी गर्न सक्नेछन् । व्यवसायीक सोच भएका तर लगानी अभावले अगाडि बढ्न नसकेका उद्यमीहरूले नयाँ सम्भावना पाउने विश्वास गरिएको छ ।

कार्यक्रमको पहिलो सिजनका लागि पाँच जना नेपाली व्यवसायीलाई सार्कका रूपमा चयन गरिएको छ । आइएमई ग्रुपका सह–संस्थापक हेमराज ढकाल, अग्नि ग्रुपका संस्थापक क्याविनेट श्रेष्ठ, बैद्य अर्गनाइजेसनकी निर्देशक ऋतुसिंह वैद्य, निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगरिया र पद्म ज्योति ग्रुपका निर्देशक शौरभ ज्योति रहेका छन् ।

शोलाई सिमोस सुनुवारले निर्देशन गर्ने छन् । एउटा एपिसोडमा पाँच जना उद्यमी गरेर कुल २० एपिसोडमा १०० जना उद्यमीले आफ्नो व्यवसाय र उद्यमशीलताको आइडिया पिच गरेका छन् । नेपाली व्यवसाय क्षेत्रलाई प्रोत्साहन दिने र नयाँ सोच र सिर्जनशीलतालाई अगाडि ल्याउने उद्देश्यले तयार पारिएको यो कार्यक्रमले उद्यमशीलताको प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । ‘सार्क ट्यांक नेपाल’ले नयाँ पुस्ताका उद्यमीहरूलाई प्रेरणा दिनुका साथै लगानी र अवसर सिर्जना गर्ने आयोजकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस