रुसलाई उत्तर कोरियाको साथ, ३० हजार सैनिक पठाउने तयारी

अनलाइनसमय |
१९ असार २०८२
रुसलाई उत्तर कोरियाको साथ, ३० हजार सैनिक पठाउने तयारी

काठमाडौं, १९ असार । उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धमा रुसलाई साथ दिन झन्डै ३० हजार सैनिक पठाउने तयारी गरेको छ । युक्रेनी गुप्तचर रिपोर्ट अनुसार यी सैनिकहरू छिट्टै रुस पुग्ने सम्भावना रहेको सिएनएनले उल्लेख गरेको हो ।

यसअघि सन् २०२४ को नोभेम्बरमा उत्तर कोरियाले ११ हजार सैनिक रुस पठाएको थियो । ती सैनिकहरूले युक्रेनको कुस्र्क क्षेत्रमा भएको आक्रमण रोक्न सघाएका थिए । तर त्यस बेला करिब ४ हजार उत्तर कोरियाली सैनिक मारिएका वा घाइते भएका पश्चिमी मुलुकका अधिकारीहरूले बताएका छन् । यद्यपि उत्तर कोरिया र रुसबीचको सैन्य सहकार्य बढ्दै गएको देखिन्छ ।

पश्चिमी गुप्तचर अधिकारीहरूका अनुसार पनि उत्तर कोरियाबाट २५ देखि ३० हजार सैनिक पठाइने सूचना उनीहरूसँग पनि छ ।

युक्रेनी गुप्तचर रिपोर्टमा भनिएको छ, ‘रुसी रक्षा मन्त्रालयले आवश्यक उपकरण, हतियार र गोलाबारुद दिन सक्ने स्थिति छ, उत्तर कोरियाली सैनिकहरूलाई रुसी युद्ध इकाइमा मिसाउने प्रयास भइरहेको देखिन्छ ।’

उक्त रिपोर्ट अनुसार रुसले हजारौँ विदेशी सैनिकहरूलाई ट्रान्सपोर्ट गर्न आफ्नो सैन्य विमानहरूलाई यात्री बोक्न मिल्ने गरी परिमार्जन गरिरहेको देखिएको छ । रुसको साइबेरियाबाट उत्तर कोरियासम्म सिधा सिमाना भएकाले ठूलो सङ्ख्यामा सैनिक आवागमन सहज हुने अनुमान गरिएको छ ।

सिएनएनले प्राप्त गरेको भू–उपग्रह तस्बिरहरूले पनि उत्तर कोरियाको सुनान विमानस्थलमा सामूहिक ढुवानी विमान देखिएको छ । यिनै विमानहरू २०२४ मा पहिलो चरणको सैनिक पठाउने क्रममा प्रयोग गरिएका थिए । यस्तै गत मे १८ मा रूसी सेनाका लागि सैनिक बोक्ने ‘रोपुचा’ वर्गको जहाज पुनः डुनाई बन्दरगाहमा देखिएको छ । यही किसिमको जहाज नोभेम्बर २०२४ मा पनि प्रयोग गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस