तपाईंलाई निद्रा अपुग हुन्छ ? विज्ञ भन्छन्– जोखिम हुन्छ

अनलाइनसमय |
२१ असार २०८२
तपाईंलाई निद्रा अपुग हुन्छ ? विज्ञ भन्छन्– जोखिम हुन्छ

काठमाडौं, २१ असार । तपाईं बारम्बार हाई गर्नुहुन्छ ? वा दिउँसो अफिसमा तीन चार पटक कफी नपिए टिक्न गाह्रो हुन्छ ? बैठकमा बस्दा आँखा आफैं बन्द हुने गर्छन् ? कहिलेकाहीँ यस्तै थकाइ र आलस्यलाई सामान्य ठानिए पनि वास्तवमा यो तपाईंको स्वास्थ्यका लागि खतरा हुन सक्छ ।

अमेरिकन एकेडेमी अफ स्लीप मेडिसिनको नयाँ रिपोर्टका अनुसार निद्रा लाग्ने यस्ता संकेतहरू गम्भीर निद्राको कमीको संकेत हुन सक्छन्, जसले तपाईंलाई शारीरिक सुरक्षामा जोखिम पुर्‍याउनुका साथै दीर्घकालीन स्वास्थ्यमा समेत हानि पुर्‍याउँछ ।

‘निद्राबाट थकाइ वा आलस्यता गम्भीर स्वास्थ्य समस्या हो, जसको असर धेरै ठूलो हुन्छ,’ निद्रा विशेषज्ञ तथा मिनेसोटाको रोचेस्टरस्थित मेयो क्लिनिकका पल्मोनोलोजिस्ट तथा एएएसएमका अध्यक्ष डा. एरिक ओल्सनले भने, ‘निद्रा कम भएर गाडी चलाउँदा दुर्घटना हुन सक्छ, कार्यस्थलमा गल्ती हुनका साथै स्वास्थ्यमा दीर्घकालीन समस्या आउन सक्छ, यस्तो असरले व्यक्ति र समाज दुबैलाई हरेक दिन प्रभाव पार्छ ।’

उनको यो भनाइ अमेरिकन एकेडेमी अफ न्युरोलोजी, नेसनल सेफ्टी काउन्सिल र अमेरिकन एकेडेमी अफ फेमिली फिजिसियनसहित २५ वटा स्वास्थ्य सम्बन्धी संस्थाहरूले समर्थन गरेको रिपोर्टमा उल्लेख छ ।

विशेषज्ञहरूका अनुसार कम्तीमा ७ देखि ८ घण्टा राम्रोसँग ननिदाउँदा मधुमेह, डिप्रेसन, मुटु र मिर्गौला रोग, उच्च रक्तचाप, मोटोपन र स्ट्रोकजस्ता समस्या हुने सम्भावना हुन्छ । साथै भएका समस्या झन् बढ्न सक्छन् ।

‘अमेरिकामा झण्डै एक तिहाइ मानिसले अत्यधिक थकान वा निद्रा नपुग्ने समस्या भोगिरहेको बताउँछन् । त्यसैले यस्तो समस्या जाँच गर्न र उपचार गर्न जरुरी छ,’ डा. ओल्सनले थपे ।

धेरैजसो मानिसले काम गर्दा झपक्क सुत्नु वा थकाइका लक्षणलाई सामान्य ठान्छन् । तर, यस्ता लक्षण वास्तवमा गम्भीर निद्रा अभावको संकेत हुन सक्ने भएकाले यसलाई बेवास्ता गर्नु खतरनाक हुन सक्ने विशेषज्ञहरूले चेतावनी दिएका छन् ।

‘बोरिङ बैठकमा टाउको हल्लाउनु अपर्याप्त निद्राको संकेत हो, जसले राम्रोसँग निद्रा लिएको हुन्छ, उसलाई जतिसुकै बोरिङ बैठक भए पनि निद्रा लाग्दैन । तर, जसको निद्रा पुगेको हुँदैन, ऊ बैठकमा झपक्क सुत्छ,’ निद्रा विशेषज्ञ तथा शिकागोको नर्थ वेस्टर्न विश्वविद्यालयको फेनबर्ग स्कूल अफ मेडिसिनका न्यूरोलोजी र निवारक औषधिका सह–प्राध्यापक क्रिस्टन कन्युटसनले भनिन् ।

‘दिउँसो धेरै थकाइ लाग्नु वा बारम्बार सुत्नु गम्भीर समस्या हो । यसले काममा असर गर्छ र सुताइसँग सम्बन्धित रोग भएको संकेत हुन सक्छ । यदि कोहीलाई दिनहुँजसो अत्यधिक थकाइ वा निद्रा नपुग्ने समस्या हुन्छ भने तुरुन्त डाक्टरसँग कुरा गर्नुपर्छ,’ उनले थपिन् ।

 

के हुन्छ खतरा ?

जब शरीरमा लगातार निद्रा पुग्दैन, तब शरीरले अनौठा संकेत दिन थाल्छ । जस्तै, धेरै हाई आउने भए पनि त्यसलाई रोक्ने प्रयास गर्छ र तपाईंलाई ठिकै छ भन्ने संकेत दिन्छ । तर, यस्तो संकेत गलत भएको निद्रा विशेषज्ञ तथा अमेरिकन एकेडेमी अफ स्लीप मेडिसिनकी सदस्य डा. इन्दिरा गुरुभगवतुला बताउँछिन् ।

उनी भन्छिन्, ‘दुर्भाग्यपूर्ण कुरा के छ भने लामो समयसम्म निद्रा नपुग्दा हाम्रो शरीरले आफैंमा कति कमजोरी आएको छ भन्ने बुझ्न सक्दैननौं । हामीलाई लाग्छ, हामी ठीक छौं । तर, वास्तवमा हामी ठीक हुँदैनौं ।’

गुरुभगवतुला भन्छिन्, ‘जब हामी तपाईंको मस्तिष्क कत्तिको राम्रोसँग काम गरिरहेको छ भनेर परीक्षण गर्छौं— प्रतिक्रिया समय, सम्झने क्षमता, समन्वय आदि । त्यतिबेला थुप्रै गल्ती देखिन्छन् । तर, यो डर लाग्दो कुरा हो किनभने उनीहरूलाई अझै पनि आफ्नो अवस्था ठीक छ जस्तो लाग्छ ।’

525757763

‘यसरी दुई सेकेन्ड, तीन सेकेन्ड, दस सेकेन्ड जति छोटो समयको लागि सुतिन्छ र फेरि ब्युझिन्छ । तर यो प्रक्रिया चलिरहेको तपाइंलाई थाहा हुँदैन,’ उनले भनिन्, ‘यदि गाडी तपाईं चलाइरहनुभएको छ वा सुरक्षा सम्बन्धि कुनै काम गरिरहनुभएको छ भने यो धेरै खतरनाक हुन सक्छ ।’ यसले गाडी चलाउन सुरक्षित नभएको संकत दिने भएकाले यो बेलामा ध्यान दिन उनी सुझाव दिन्छिन् ।

तथ्याङ्क अनुसार प्रत्येक वर्ष करिब १ लाख वटा गाडी दुर्घटना निद्रा लागेर गाडी चलाउँदा हुने गरेको रिपोर्टमा उल्लेख छ ।

निद्राको जाँच कसरी गर्ने ?

थकाइ वा निद्रा नपुग्ने समस्या खतराको क्षेत्रमा पुगेको छ कि छैन भनेर विभिन्न स्केलहरू मार्फत मापन गर्न सकिन्छ, जसमा एपवर्थ स्लीपिनेस स्केल रहेको गुरुभगवतुलाले भनिन् ।

यस्तो परीक्षणमा खाना खाएपछि चुपचाप बसेको बेला निद्रा लाग्ने सम्भावना कति हुन्छ ?, दिउँसो सुत्दा, सार्वजनिक ठाउँमा शान्त भएर बस्दा, किताब पढ्दा, कसैसँग कुरा गर्दा, गाडीमा यात्रु भएर एक घण्टा बस्दा, गाडी चलाउँदा ट्राफिक जाममा केही समय रोकिँदा तथा टेलिभिजन हेर्दा निद्रा लाग्ने सम्भावना कति हुन्छ ?

‘हामी बिरामीलाई ती आठवटा अवस्थामा आफूलाई निद्रा लाग्ने सम्भावना कति छ भनेर ० देखि ३ अंकसम्म दिन भन्छौं,’ उनले भनिन्, ‘अधिकतम अंक २४ हुन्छ, जुन अत्यन्तै थकाइ वा सुस्तता देखाउने संकेत हो । सामान्यतया १० भन्दा माथिको अंकलाई चिकित्सकीय रूपमा गम्भीर मानिन्छ र त्यसको उपचार आवश्यक हुन्छ ।’

गुरुभगवतुलाका अनुसार यदि निद्रा अभाव लामो समयसम्म जारी रह्यो भने खतरनाक लक्षणहरू बढ्न थाल्छन् ।

‘आँखा आधा बन्द हुन थाल्छ, शरीर लुलो हुन्छ, सिधा बस्न गाह्रो हुन्छ, कतिपय अवस्थामा त हल्का चक्कर लाग्ने, वरिपरिको कुरा घुमेको महसुस हुने र हात काम्ने अवस्था पनि आउन सक्छ,’ उनले भनिन्, ‘त्यसका साथै तपाईंको निर्णय क्षमता कमजोर हुन थाल्छ, जोखिम मोलेर काम गर्न मन लाग्छ, जे गरे पनि केही फरक पर्दैन जस्तो लाग्छ, यो पनि निद्राको गम्भीर लक्षण हो ।’

निद्रा लाग्नुका थप कारणहरू

निद्रासम्बन्धी समस्याहरू जस्तै स्लीप एप्निया, अनिद्रा (इन्सोम्निया), खुट्टा चलाउने समस्या (रेस्टलेस लेग सिन्ड्रोम), दीर्घकालीन दुखाइ हुने अवस्थाहरू र केही औषधिका कारणले निद्रा लाग्न सक्छ । जुन निद्रा विशेषज्ञले परीक्षण गरेर पत्ता लगाउने गर्छन् । विशेषज्ञहरूका अनुसार केही जीवनशैली सम्बन्धी व्यवहारहरू पनि दीर्घकालीन थकाइ वा निद्राको कारण बन्न सक्छन् ।

‘अत्यधिक कफी सेवन गर्नु, सुत्नुअघि मदिरा सेवन गर्नु, गाँजा प्रयोग गर्नु, तपाईंले गर्ने व्यायामको मात्रा र खराब निद्रा अभ्यास (उज्यालो, अत्यधिक चिसो, अत्यधिक तातो वा धेरै आवाज आउने कोठामा सुत्नु)ले पनि निद्राको गुणस्तरमा प्रभाव पार्छ र तपाईं कति ताजा महसुस गर्नुहुन्छ भन्ने कुरामा फरक पार्छ,’ गुरुभगवतातुलाले भनिन् ।

धेरै मानिसहरू सोच्छन्, रक्सी वा गाँजा खाएपछि राम्रो निद्रा लाग्छ । तर यो गलत हो । रक्सी खाँदा सुरुमा सुत्न सजिलो हुन्छ जस्तो लाग्छ, तर शरीरले रक्सी पचाएपछि रातको बीचमा ब्युझिन्छ । त्यसैले राम्रो निद्रा हुँदैन ।

गुरुभगवतुलाले भनिन्, ‘मसँग त्यस्ता धेरै बिरामीहरू छन्, जसले खानासँग एक गिलास रक्सी छोडेपछि आफ्नो निद्रा कत्तिको सुधारिन्छ भन्ने थाहा पाएर अचम्म मान्छन् ।’

त्यस्तै, गाँजा सेवन गर्दा पनि समस्या आउँछ । उनले भनिन्, ‘गाँजाले सुताइ कमजोर बनाउँछ, निद्राको गुणस्तर घट्छ र भोलिपल्ट झन् थकाइ महसुस हुन्छ ।’ राम्रोसँग सुत्न रक्सी र गाँजाबाट जति सक्दो टाढा बस्नुपर्ने गुरुभगवतातुला बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस