उपप्रमुख डंगोलको अपिल- आवेग र उत्तेजनामा होइन, संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी बनौँ

अनलाइनसमय |
२३ असार २०८२
उपप्रमुख डंगोलको अपिल- आवेग र उत्तेजनामा होइन, संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी बनौँ

काठमाडौं, २३ असार । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरको आगामी आर्थिक वर्षको बजेट प्रक्रिया प्रभावित हुन नदिन सबै जनप्रतिनिधिहरूलाई संयमित भई जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गरेकी छन् ।
सोमबार सामाजिक सञ्जालमा एक सन्देश सार्वजनिक गर्दै उनले बजेट ल्याउनका लागि खुला छलफल गर्न र हातेमालो गरी अघि बढ्न अपिल गरेकी हुन् ।

उनको सन्देशमा भनेकी छन्, ‘म सबै जनप्रतिनिधि साथीहरूलाई आग्रह गर्न चाहन्छु कि हामीले संविधान र कानूनले तोकेको परिधिभित्र रहेर, खुला छलफल गरी, वातावरण बिगार्ने होइन सम्हालेर, आवेग र उत्तेजनामा होइन संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी बनौँ। डुंगा प्वाल पारेर अरुलाई खसाल्ने र आफू मात्रै बाच्ने दुर्भाग्यको बाटो रोज्ने, खोज्ने प्रयास नगरौँ । हामी सबै हातेमालो गरेर अघि बढौँ ।’

संविधान र कानुनी प्रावधानअनुसार असार १० गतेभित्र महानगरको बजेट प्रस्तुत भइसकेर असार मसान्तभित्र पारित गर्नुपर्ने कानुनी बाध्यता रहेपनि अहिलेसम्म कार्यपालिका, नगरसभा, बजेट तर्जुमा समिति र स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिका बैठकहरूसमेत हुन नसकेको भन्दै डंगोलले सकारात्मक प्रयासका लागि आग्रह गरेकी हुन् ।

डंगोलले उपप्रमुखको जिम्मेवारी सम्हालेदेखि नै ‘सहमति, सहकार्य र सहअस्तित्व’ को सिद्धान्तलाई आत्मसात् गर्दै महानगरबासीको बृहत्तर हितका लागि काम गर्दै आएको बताइन् । उनले भनिन्, ‘मैले सधैँ व्यक्तिगतभन्दा महानगरवासीको हितलाई प्राथमिकता दिएर काम गर्दै आएकी छु ।’

डंगोलले बजेट प्रक्रिया अघि बढाउन अनौपचारिक छलफलहरू भइरहेपनि औपचारिक बैठक हुन नसक्नु दुर्भाग्यपूर्ण भएको उल्लेख गरेकी छन् । आइतबार मात्र मेयर, प्रवक्ता र कार्यपालिका सदस्यहरूसँग बोर्ड बैठक तथा नगरसभा छिटो सम्पन्न गर्ने विषयमा छलफल गर्दा सबैबाट सकारात्मक संकेत पाएको उनले उल्लेख गरेकी छन् ।

उपमेयर डंगोलले प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिबिना बैठक राखेर बजेट प्रक्रिया अघि बढाउने चलन कानुनी र नैतिक दुवै हिसाबले उचित नहुने स्पष्ट पारेकी छन् । ‘यदि प्रमुख प्रशासकीय अधिकृत दोषी ठहरिनुहुन्छ भने उहाँलाई कानूनबमोजिम तत्काल कारबाही हुनुपर्छ भन्नेमा म सधैँ अडिग छु,’ डंगोलले भनेकी छन्, “जनप्रतिनिधिले उहाँलाई बैठकमा नै राखेर खुल्ला रूपमा प्रश्न गर्न पाउनुपर्छ भन्ने मेरो मान्यता छ । प्रमुख प्रशासकीय अधिकृतलाई बैठकमा सहभागी नगराई जनप्रतिनिधिलाई नै प्रश्न गर्ने अवसरबाट वञ्चित गराउनु उचित होइन । यसरी उहाँलाई बैठकबाट बाहिर राख्दा जनप्रतिनिधिका प्रश्नबाट भाग्न खोजिएको हो कि भन्ने संशय जनतामा उठ्न सक्छ ।’ प्रमुख प्रशासकीय अधिकृतविना कार्यपालिका र नगरसभाका बैठक बसाल्न नहुने उनको जोड छ ।

उनले प्रमुख प्रशासकीय अधिकृतलाई मात्र दोष देखाएर बजेटलगायतका महत्वपूर्ण कार्यलाई अवरोध पु¥याउनु हुँदैन भन्ने कुरालाई पनि जोड दिएकी छन् ।

आफूहरुलाई काठमाडौं महानगरबासीले जनहितमा काम गर्न भनेर निर्वाचित गरेको बताउँदै यदि बजेट ल्याउन नसके महानगरबासीलाई धोका हुने उपमेयर डंगोलले उल्लेख गरेकी छन् । ‘हामी जनताबाट निर्वाचित जनप्रतिनिधि हौं । जनताले हामीलाई यहाँको विकास, समृद्धि र जनहितमा काम गर्न निर्वाचित गरेर पठाएका हुन् । हामीले हाम्रो जिम्मेवारी पूरा नगरेमा काठमाडौंबासीलाई धोका दिएको ठहरिने छ,’ उनको सन्देशमा लेखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस