हिम स्टार उर्जा कम्पनीको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

अनलाइनसमय |
२४ असार २०८२
हिम स्टार उर्जा कम्पनीको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

काठमाडौं, २४ असार । हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणको लागि खुलेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ९३ हजार २५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले कर्मचारीहरुलाई १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषहरुका लागि ४६ हजार ६२५ कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा असार २७ सम्म आवेदन दिन सकिनेछ भने तोकिएको समयमा आवेदन नपरे साउन ६ सम्मको मिति तोकिएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस