शोधनान्तर स्थिति करिब ५ खर्ब बचतमा

अनलाइनसमय |
२४ असार २०८२
शोधनान्तर स्थिति करिब ५ खर्ब बचतमा

काठमाडौं, २४ असार । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को जेठसम्ममा शोधनान्तर स्थिति करिब ५ खर्बले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कअनुसार जेठसम्ममा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँले बचतमा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब २० करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब ६२ करोडले बचतमा रहेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आवको जेठसम्ममा चालु खाता ३ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँले बचतमा रहेको छ । गत आवको सोही अवधिमा यस्तो खाता २ खर्ब ३८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको चालु खाता चालू आवको जेठसम्ममा २ अर्ब २६ करोडले बचतमा रहेको छ ।

त्यस्तै समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ८ अर्ब ९६ करोड रहेको छ । गत आवको सोही अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब ४६ करोड रहेको थियो । यसैगरी चालू आवको जेठसम्ममा ११ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत आवको सोही अवधिमा यस्तो लगानी ८ अर्ब २४ करोड भित्रिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस