त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा रोक

अनलाइनसमय |
२६ असार २०८२
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा रोक

काठमाडौं, २६ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला तथा कुनै संस्थाको परिचय खुल्ने पोसाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले आज एक सूचना जारी गर्दै अध्यागमन क्षेत्र एक संवेदनशील र सुरक्षात्मक क्षेत्र भएकाले यस्ता सामग्रीको प्रयोगमा रोक लगाइएको जनाएको छ ।

यो नियम सम्पूर्ण यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीहरूलाई लागू हुनेछ । ‘अध्यागमन क्षेत्र वा डेस्क वा काउन्टरमा रहँदा वा अध्यागमन प्रक्रियामा सहभागी हुँदा कुनै पनि प्रकारको खादा, माला, वा यस्तै अन्य सजावटी वस्तुहरूको प्रयोग नगर्नुहोला,’ अध्यागमनले जारी गरेको सुचनामा भनिएको छ । यस्ता वस्तुले सुरक्षा जोखिम बढाउन र प्रक्रियामा ढिलाइ गर्न सक्ने कार्यालयको भनाइ छ ।

त्यस्तै, कुनै समूह, सङ्गठन, ट्राभल एजेन्सी वा म्यानपावर कम्पनीको परिचय झल्काउने पहिरन, टोपी, ब्याच वा अन्य पहिचानजन्य वस्तुको प्रयोगमा पनि पूर्ण प्रतिबन्ध लगाइएको छ । यस्ता सामग्रीले कुनै यात्रुलाई विशेष व्यवहार गरिएको भान पर्न सक्ने वा सुरक्षा संवेदनशीलतामा प्रश्न उठ्न सक्ने भएकाले सबैलाई समान व्यवहार सुनिश्चित गर्न यो नियम लागू गरिएको हो ।

अध्यागमन कार्यालयले यी नियमहरूको पालना गरी प्रक्रियालाई सहज बनाउन सबैमा अनुरोध गरेको छ । साथै नियम उल्लङ्घन गरे कानुनबमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस