काठमाडौं, २७ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसका साथै मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यसैका कारण अहिले हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भाग साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहेको छ । लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले पूर्वानुमान गरेको छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
यस्तै आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
