काठमाडौं, ३० असार । नेपाल एसबिआई बैंक लिमिटेडले आजदेखि १० वर्षे अवधि भएको डिबेञ्चर सार्वजनिक निष्कासनमार्फत गरेको छ । ‘७ प्रतिशत नेपाल एसबिआई डिबेञ्चर २०९०’ नाम दिइएको यस ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रस्ताव गरिएको हो ।
बैंकले कुल ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको छ । जसअन्तर्गत १ अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत रुपमा बिक्री गरिनेछ भने बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख कित्ता सर्वसाधारणका लागि खुला गरिएको छ । सर्वसाधारणलाई छुट्याइएको मध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ ।
डिबेञ्चरको मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ निर्धारण गरिएको छ । आवेदन दिन चाहने लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।
डिबेञ्चरमा आवेदन दिने अन्तिम म्याद साउन १ गतेसम्म तोकिएको छ । यद्यपि सो अवधिभित्र सबै ऋणपत्र बिक्री नभएमा आवेदन अवधि साउन १२ गतेसम्म लम्बिन सक्ने व्यवस्था गरिएको छ ।
यस डिबेञ्चरको निष्कासन तथा बिक्री व्यवस्थापन नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ ।