काठमाडौं, ३१ असार । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको आजदेखि हकप्रद शेयर खुलेको छ ।
कम्पनीले १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपात अर्थात शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । जसअनुसार कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ २२ गते बुकक्लोज गरेको थियो । तसर्थ जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । उक्त शेयर खरिदका लागि साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै राष्ट्रिय वाणिज्य बैंकका विरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ्ग, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुल्सीपुर, महेन्द्रनगर, चैनपुर, खांदबारी र धरान शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, सि आस्बा सेवा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन् ।
बरुण हाइड्रोपावरले हकप्रदबाट संकलन हुने पूँजीमध्ये १ करोड ५८ लाख रुपैयाँ क्षतिग्रस्त हेवाखोला जलविद्युत् आयोजनाको पुनः निर्माण तथा अन्य आवश्यक खर्चमा प्रयोग गर्ने जनाएको छ । बाँकी ५२ करोड रुपैयाँ भने ८८जलशक्ति हाइड्रो कम्पनी प्रा.लि.८८मा लगानी तथा अधिग्रहण प्रयोजनमा खर्च गरिनेछ ।