६०० स्टार्टअपलाई ८८ करोडभन्दा बढी सहुलियतपूर्ण कर्जा प्रदान

अनलाइनसमय |
२ साउन २०८२
६०० स्टार्टअपलाई ८८ करोडभन्दा बढी सहुलियतपूर्ण कर्जा प्रदान

काठमाडौं, २ साउन । सरकारले गत आर्थिक वर्षमा ६०० स्टार्टअप उद्यमीलाई ८८ करोड रुपैयाँ बढी सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय वाणिज्य बैंकमार्फत २०८२ असार मसान्तसम्ममा ८८ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरिएको जानकारी दिएको हो ।

मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले २०८१ भदौ ११ गते स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको थियो । तोकिएको समयभित्र कुल ५ हजार १५८ परियोजना प्रस्ताव प्राप्त भएकोमा प्रारम्भिक मूल्यांकनपछि १ हजार ३१४ प्रस्तावलाई सूचीमा समावेश गरिएको थियो ।

मन्त्रालयका अनुसार व्यावसायिक प्रस्तुतिमा १ हजार ७३ प्रस्तावक मात्र सहभागी भएका थिए । प्रस्तुतीकरणको मूल्यांकनका आधारमा ६ सय ६१ परियोजना छनोट गरी राष्ट्रिय वाणिज्य बैंकलाई कर्जा प्रवाहका लागि सिफारिस गरिएको थियो । सोहीअनुसार बैँकले ६०० वटा परियोजनालाई कर्जा उपलब्ध गराएको विज्ञप्तिमा जनाइएको छ ।

छानिएका स्टार्टअपले तीन प्रतिशत ब्याजदरमा न्यूनतम पाँच लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा पाएका छन्, जसको अवधि पाँच वर्षसम्म हुनेछ । कर्जाका लागि उद्योग व्यवसाय दर्ता भएको १० वर्ष ननाघेको र वार्षिक कारोबार १५ करोडभन्दा कम भएको हुनुपर्नेछ । प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्थाका उद्यमहरूले मात्र यो कर्जा पाउनेछन् ।

यसैगरी, कम्पनी रजिस्ट्रारको कार्यालयले सञ्चालनमा ल्याएको कम्पनी प्रशासन सूचना प्रणाली (ऋब्ःक्ष्क्) मार्फत ६९,४३० कम्पनीले वार्षिक विवरण बुझाएका छन् । २०८१ पुस २९ देखि २०८२ असार मसान्तसम्म कम्पनी ऐन, २०६३ को व्यवस्थाबमोजिम विद्युतीय अभिलेखमार्फत उक्त संख्यामा विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३८ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । बिहीबार लिमिटेडको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लिमिटेडबाट सम्बोधन भईरहेका कार्यलाई अझ प्रभावकारी बनाउन र एक साताभित्र आगामी वर्षको वार्षिक कार्य योजना तयार गर्न निर्देशन दिए ।

मन्त्रालयका सचिव कृष्णबहादुर राउतले औद्योगिक क्षेत्रलाई सूचना प्रविधिसँग जोडेर विकास गर्नु पर्ने आवश्यकता औँल्याउँदै औद्योगिक क्षेत्रलाई आधुनिक प्रविधियुक्त, नवीन तथा प्रतिस्पर्धी बनाउन निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने धारणा राखे ।

समारोहमा विभिन्न औद्योगिक क्षेत्रमा कार्यरत उत्कृष्ट कर्मचारी तथा सफल उद्योगलाई सम्मानसहित पुरस्कार प्रदान गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस