१७.१९ प्रतिशतले घट्यो एफडिआई प्रतिबद्धता

अनलाइनसमय |
२ साउन २०८२
१७.१९ प्रतिशतले घट्यो एफडिआई प्रतिबद्धता

काठमाडौं, १ साउन । एक वर्ष अवधिमा नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता घटेको छ ।

उद्योग विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष (आव) २०८१/८२ मा नेपालमा स्वचालित प्रणाली (अटोमेटिक रूट), स्वीकृति र शेयर खरिदलगायतमा ६७ अर्ब ६३ करोड १ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ, जुन अघिल्लो आवको तुलनामा १७ दशमलव १९ प्रतिशतले कम हो । आव २०८०/८१ मा विदेशी लगानीकर्ताबाट यस्तो प्रतिबद्धता ७३ अर्ब ५६ करोड १३ लाख आएको थियो ।

गत आवमा स्वीकृति प्रणाली (अप्रुभल रूट)मार्फत सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता आएको छ । सो अवधिमा विदेशी लगानीकर्ताले विभिन्न क्षेत्रका ३७४ उद्योग स्थापना गर्न अप्रुभल रूटबाट ६० अर्ब ३५ करोड २४ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन्, जुन अघिल्लो आवको तुलनामा यस्तो प्रतिबद्धता २ दशमलव ५० प्रतिशतले घटेको हो । आव २०८०/८१ मा विदेशी लगानीकर्ताले स्वीकृति प्रणालीमार्फत ६१ अर्ब ९० करोड भन्दा बढी लगानी प्रतिबद्धता जनाएका थिए ।

त्यस्तै अटोमेटिक रूटबाट ४ अर्ब ६१ करोड २६ लाख रुपैयाँ र शेयर खरिदबाट २ अर्ब ६६ करोडरुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ ।

विभागका अनुसार यस्तो प्रतिबद्धता ८७८ उद्योगका लागि आएको हो । एक वर्ष अवधिमा अटोमेटिक रूटबाट ३८९ उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । त्यस्तै अप्रुभल रूटबाट ४५१, र शेयर खरिदबाट ३८ उद्योगका लागि यस्तो प्रतिबद्धता आएको छ । अघिल्लो आवमा अटोमेटिक, अप्रुभल र शेयर खरिदबाट क्रमश : ४०७, १३९, ६२ उद्योगका लागि विदेशी लगानी प्रतिबद्धता आएको थियो ।

यसैगरी गत आव (साउन–असार)सम्ममा ८२४ वटा साना उद्योग, १० वटा मध्यम (मझौला) र ६ वटा ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । सो आवधिमा प्राप्त प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा १९ हजार ५३६ जनाले रोजगारी पाउनेछन् ।

सुरुदेखि हालसम्म विदेशी लगानीकर्ताले ७ हजार २३९ उद्योगका लागि ५ खर्ब ९४ अर्ब ७० करोड ६६ लाख रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आइसकेको विभागको तथ्याङ्कमा उल्लेख छ । यो प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा ३ लाख ४७ हजार ३२४ जनाले रोजगारी पाउनेछन् ।

कुन क्षेत्रमा कति ?

एक वर्ष अवधिमा पर्यटन क्षेत्रमा आएको वैदेशिक लगानी प्रतिबद्धता … प्रतिशतले घटेको छ । गत आवमा ३०४ पर्यटन उद्योगका लागि २६ अर्ब ८२ करोड ४२ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । अघिल्लो आवमा यस्तो प्रतिबद्धता आविभागका अनुसार ११ महिनामा सेवा क्षेत्रमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको छ ।

गत आवमा अटोमेटिक रूट स्वीकृति प्रणालीमार्फत आएको कुल लगानी प्रतिबद्धतामध्ये सबैभन्दा धेरै सेवा क्षेत्रमा रहेको छ । यो क्षेत्रका ८४ वटा उद्योगका लागि ३० अर्ब ९० करोड ७७ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।

त्यस्तै, पर्यटन क्षेत्रमा २६ अर्ब ८२ करोड ४२ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । यो प्रतिबद्धता भित्रिए पर्यटन क्षेत्रका ३०४ उद्योग स्थापना हुने छन् । साउन– असारसम्ममा उत्पादनमुलक क्षेत्रका ३५ उद्योगका लागि ३ अर्ब ८४ करोड २० लाख तथा आईसीटी क्षेत्रका ३८२ उद्योगका लागि १ अर्ब ८४ करोड ९६ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस