१६.७५% ले बढ्यो घरजग्गा कारोबारबाट प्राप्त हुने आम्दानीे, घट्यो कारोबार

अनलाइनसमय |
३ साउन २०८२
१६.७५% ले बढ्यो घरजग्गा कारोबारबाट प्राप्त हुने आम्दानीे, घट्यो कारोबार

काठमाडौं, ३ साउन । गत आवमा घरजग्गाको लिखत पारितमा सुधार नभए पनि कारोबारबाट संकलन हुने राजस्वमा भने उल्लेख्य वृद्धि भएको छ । भूमि व्यवस्थापन विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष (आव) २०८१/८२ मा सरकारले घरजग्गा कारोबारबाट ४९ अर्ब ४ करोड बराबरको राजस्व संकलन गरेको छ, जुन अघिल्लो आवको तुलनामा १६ दशमलव ७५ प्रतिशतले बढी हो । आव २०८०/८१ मा देशभरका मालपोत कार्यालयबाट ४२ अर्ब रुपैयाँ बराबरको राजस्व उठेको थियो ।

सरकारले गत आवको अन्तिम महिना (असार)मा घरजग्गा कारोबारबाट सबैभन्दा धेरै राजस्व संकलन गरेको छ । असारमा घरजग्गा कारोबार बाट ४ अर्ब ७२ करोड ७० लाख रुपैयाँ बराबरको राजस्व संकलन भएको छ । घरजग्गा कारोबारबाट भएको यो आम्दानी यस वर्षकै उच्च हो । सरकारले गत वैशाखमा घरजगा कारोबार बाट ६ अर्ब ५५ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । आव २०८१/८२ को माघसम्म उत्तरचढाव भइरहेको यस्तो आम्दानी फागुन यता भने सुधारको लयमा थियो । फागुन यता घरजग्गा कारोबारबाट प्राप्त हुने आम्दानी निरन्तर बढ्दै गएको विभागको तथ्याङ्कले देखाउँछ ।

सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजश्व प्राप्त हुन्छ । त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर, सेवा कर र पुँजीगत लाभकरबाट आम्दानी प्राप्त हुन्छ ।

गत आवको असारमा सेवा करबाट ४३ करोड रुपैयाँ, रजिष्ट्रेशन दस्तुरबाट ३ अर्ब ४९ करोड र पुँजीगत लाभकरबाट २ अर्ब ५६करोड लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

दुई अर्थिक वर्षमा घरजग्गा कारोबारबाट प्राप्त भएको आम्दानी (रू.अर्बमा)

यस वर्ष घरजग्गा कारोबारबाट प्राप्त हुने राजस्वमा सुधार देखिए पनि लिखत पारित भने घटेको छ । विभागको तथ्याङ्क अनुसार गत आवमा देशभरका मालपोत कार्यालयबाट ५ लाख २९ हजार ६२८ वटा घरजग्गा लिखत पारित भएका छन्, जुन अघिल्लो आवको तुलनामा १ दशमलव ४२ प्रतिशतले कम हो आव २०८०/८१ देशभर ५ लाख ३७ हजार ३०५ वट भरजग्गाको कारोबार भएको थियो ।

गत आवको सुरुवाती महिनादेखि नै उत्तर चढाब भइरहेको घरजग्गा कारोबार पुसबाट पुसयता लगातार घटिरहेको थियो । फेरि चैतबाट यस क्षेत्रमा केही सुधारको संकेत देखिए पनि अपेक्षाकृत हुन सकेन । असारमा जेठको तुलनामा लिखत पारित समेत घटेको देखिन्छ । जेठमा ५६ हजार १० लिखत पारित भएकोमा असारमा ५५ हजार ५२५ मा सीमित भएको थियो । त्यसअघि वैशाखमा ५२ हजार ४२३, चैतमा ४९ हजार ८३२ र फागुनमा ४६ हजार ६१ वटा घरजग्गा लिखत पारित भएको थियो ।

दुई आर्थिक वर्षमा भएको घरजग्गा कारोबार विवरण :

असारमा कहाँबाट कति भयो कारोबार र राजस्व संकलन ?
असारमा सुनसरीको इनरूवा मालपोतले सबैभन्दा बढी घरजग्गाको कारोबार गरेको छ । त्यहाँबाट २ हजार ४३० वटा घरजग्गा लिखत पारित भएको छ । सुनसरीपछि धनुसाको जनकपुरधाम मालपोत कार्यालयबाट २ हजार ३३७ र झापाको भद्रपुर मालपोतबाट १ हजार ८६९ वटा घरजग्गाको कारोबार भएको छ । त्यस्तै त्यस्तै बेलवारी मोरङबाट १ हजार ७४५, सप्तरीको राजविराज मालपोतबाट १ हजार ४९१ र सिराहा मालपोत कार्यालयबाट १ हजार ४१९ घरजग्गाको कारोबार भएको छ ।

काठमाडौं उपत्यकाको हकमा घरजग्गाको किनबेच सबैभन्दा बढी भक्तपुर मालपोतले गरेको देखिन्छ । यस कार्यालयले जेठमा १ हजार ५७२ घरजग्गाको लिखत पारित गरेको छ । त्यस्तै लगनखेल मालपोतले १ हजार ८०, कलङ्की मालपोतले ९६२, साँखु मालपोत कार्यालय ६५२ र चाबहिल मालपोत कार्यालयले ६१९ वटा घरजग्गाको कारोबार गरेको छ ।

असारमा काठमाडौं, भक्तपुर र ललितपुरलगायत उच्च मूल्य भएका जग्गा कारोबार बढ्दा राजस्व बढेको देखिन्छ । असारमा राजस्व संकलनमा काठमाडौं उपत्यका लगायत सहरी क्षेत्रका मालपोत अगाडि छन् । असारमा ललितपुरको लगनखेल मालपोतबाट सबैभन्दा धेरै ६५ करोड ५२ लाख राजस्व संकलन भएको छ ।

त्यस्तै भक्तपुर मालपोतबाट ६४ करोड ३१ लाख राजस्व संकलन भएको छ । काठमाडौंका डिल्लीबजार मालपोत कार्यालयबाट ५२ करोड ९४ लाख, कलंकी मालपोत ४६ करोड ३७ लाख र चाबहिल मालपोत कार्यालयबाट ४२ करोड ५३ लाख राजस्व संकलन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस