पाँच वर्षमा ४ गुणाले बढे रोजगारीका लागि विदेशिने नेपाली

अनलाइनसमय |
५ साउन २०८२
पाँच वर्षमा ४ गुणाले बढे रोजगारीका लागि विदेशिने नेपाली

काठमाडौं, ५ साउन । पछिल्लो पाँच वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या चार गुणाले बढेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा करिब साढे आठ लाख नेपाली कामको खोजीमा विदेश गएका छन् ।

वैैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार गत आव (साउन–असार) सम्म वैदेशिक रोजगारीका लागि ८ लाख ३९ हजार २३६ जनाले श्रम स्वीकृति लिएका छन्, जुन पाँच वर्ष अघिको तुलनामा ४०३ दशमलव ४६ प्रतिशतले बढी हो । आव २०७७/७८ मा १ लाख ६६ हजार ६९८ जनाले मात्रै श्रम स्वीकृति लिएर विदेश गएका थिए । सो वर्ष विश्वभर कोरोना महामारी तिब्र गतिमा फैलिएको थियो, जसकारण वैदेशिक रोजगारीको लागि कम नेपाली विदेशिएका थिए । यसको पछिल्लो वर्ष कोरोनाको त्रास हटेसँगै वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ह्वात्तै बढेको थियो । आव २०७८/७९ मा ६ लाख ३० हजार ९० जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । यो वर्ष कामका लागि विदेश जाने नेपालीको सङ्ख्या २७७ दशमलव ९८ प्रतिशतले वृद्धि भएको थियो । त्यसयता कामको खोजीमा विदेश जानेको सङ्ख्या लगातार बढिरहेको छ, जसले नेपालीलाई रोजगारीका लागि विदेशी भूमिमा जानुपर्ने बाध्यता स्पष्ट देखाउँछ ।

पछिल्लो समय वैदेशिक रोजगारीका लागि महिलाहरु विदेश जाने क्रम बढ्दो देखिन्छ । पछिल्लो पाँच वर्ष यता कामका लागि विदेश जाने महिलाको सङ्ख्या लगातार बढिरहेको छ । विभागका अनुसार गत आवमा ९४ हजार ४५५ महिलाले श्रम स्वीकृति लिएर विदेश गएका छन्, जुन आव २०७७/७८ को तुलनामा ७ गुणाले बढी हो । सोही वर्ष ११ हजार ४५६ महिला विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । आव २०७८/७९ मा यो सङ्ख्या बढेर ४२ हजार १२८ पुगेको थियो । त्यस्तै आव २०७९/८० मा ७२ हजार १३४ र २०८०/८१ मा ८० हजार १७२ महिलाले श्रम स्वीकृति लिएर विदेश गएका थिए ।

यस्तै गत आवमा ७ लाख ४४ हजार ८११ पुरुषले विभागबाट श्रम स्वीकृति लिएर कामका लागि विभिन्न देशमा पुगेका छन्, जुन अघिल्लो आवको तुलनामा १२ दशमलव ६५ प्रतिशतले बढी हो । अघिल्लो आवमा ६ लाख ६१ हजार १२५ पुरुषले श्रम स्वीकृति लिएका थिए ।

३ लाख ३३ हजारले लिए नयाँ श्रम स्वीकृति

विभागका अनुसार गत आवमा नयाँ श्रम स्वीकृति लिएर ३ लाख ३३ हजार ३०९ जना वैदेशिक रोजगारीमा गएका छन्, जसमध्ये महिला २८ हजार ८९० महिला र ३ लाख ४ हजार ४१९ पुरुष रहेका छन् ।

यस्तै संस्थागतबाट ३ लाख २५ हजार १३९ पुरुष र ३४ हजार ४९६ जना महिलाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । गत आवमा व्यक्तिगततर्फबाट १ लाख ४ हजार ६४ पुरुष र २९ हजार ५६३ महिलाले श्रम स्वीकृति लिएका छन् भने जी.टु.जीमार्फत १२ हजार ६५३जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएका छन् ।

नेपालीको आकर्षण युएईमा

विभागका अनुसार गत आवमा रोजगारीका लागि १ सय ५१ देशमा नेपाली श्रम स्वीकृति लिएर गएका छन्, जसमध्ये नेपालीको श्रम गन्तव्य सबैभन्दा धेरै यूएई रहेको छ । गत आवमा २ लाख ७४ हजार ५९० जनाले श्रम स्वीकृति लिएर यूएई गएका छन्, जसमध्ये २ लाख ४१ हजार ७७६ पुरुष र ३२ हजार ८१४ महिला छन् । रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश गएकामध्ये ३२ दशमलव ७१ प्रतिशत युएईमा छन् ।

यस्तो छ रोजगारीका लागि पाँच वर्षमा युएई जानेको तथ्याङ्क :

नेपाली युवा रोजगारीका लागि युएईपछि सबैभन्दा धेरै साउदी अरबमा गएका छन् । यस देशका लागि गत आवमा १ लाख ५१ हजार ८७० पुरुष र ६८७ महिलाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै कतारका लागि १ लाख ४० हजार ७९२, कुवेतका लागि ५९ हजार ६५ र मलेसिया जान ४९ हजार १८७ जनाले श्रम स्वीकृति लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस