एक वर्षमा बाहिरियो १८ करोड २६ लाखको अचार

अनलाइनसमय |
६ साउन २०८२
एक वर्षमा बाहिरियो १८ करोड २६ लाखको अचार

काठमाडौं, ६ साउन । नेपाली भान्सामा छुट्टै महत्व राख्ने अचार विश्व बजारमा पनि लोकप्रिय बन्दै गएको छ । पछिल्लो समय नेपालबाट अचार निकासी बढ्दै गएको तथ्याङ्कले नै देखाउँछ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष (आव) २०८१/८२ को असारसम्ममा १८ करोड २६ लाख रुपैयाँ बराबरको २ लाख १८ हजार १२५ किलोग्राम (केजी) अचार बाहिरिएको छ, जुन मूल्यका आधारमा गत साउनको तुलनामा करिब ७ गुणाले धेरै हो । आवको पहिलो महिना (साउन)मा २ करोड २३ लाख रुपैयाँको अचार निकासी भएको तथ्याङ्क छ ।

विशेषगरी नेपालबाट अष्ट्रेलिया, अमेरिका, बेलायत, कोरिया, जापान लगायत मुलुकमा अचार निर्यात गरिँदै आएको छ । गत असारसम्ममा अष्ट्रेलियामा ४ करोड ११ लाख, इटलीमा ३ करोड ९४ लाख र अमेरिकामा ३ करोड ६५ लाख रुपैयाँको अचार बाहिरिएको छ ।

स्रोत भन्सार विभाग
गत आवको १२ महिनामा नेपालले २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ, जुन अघिल्लो आवको यसै अवधिको तुलनामा १९ दशमलव २४ प्रतिशत बढी हो । अघिल्लो आवमा १७ खर्ब ४५ अर्ब ५३ करोड रुपैयाँको व्यापार भएको थियो ।

गत असारसम्ममा निर्यात ८१ दशमलव ८० प्रतिशतले बढेको छ । अघिल्लो आवको असारसम्ममा १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँको निर्यात भएकोमा गत आवको सोही अवधिमा २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँको भएको छ । यसैगरी आवको १२ महिनामा १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँको आयात भएको छ । अघिल्लो आवको यसै अवधिमा १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको भित्रिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस