काठमाडौं, २३ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागमा धेरै र देशका बाँकी पहाडी भू–भागका केही स्थानहरुमा तथा मधेश प्रदेश र बाँकी तराई भू–भागगका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशको तराइ लगायत कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
आज राती देशभर साधारणतया बदली रहनेछ । मधेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र बाग्मती प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।