काठमाडौं, २३ साउन । इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुद्वारा प्रस्तुत गरिएको गाजा क्षेत्रमा पूर्ण सैन्य नियन्त्रणको योजना स्वीकृत गरेको छ । शुक्रबार प्रधानमन्त्रीको कार्यालयले वक्तव्य जारी गर्दै हमासलाई पराजित गर्न प्रधानमन्त्रीको प्रस्तावमा सुरक्षा मन्त्रिपरिषद्ले स्वीकृति दिएको जनाएको हो ।
‘सुरक्षा मन्त्रिपरिषद्ले प्रधानमन्त्रीद्वारा प्रस्तुत गरिएको हमासको पराजयसम्बन्धी योजना स्वीकृत गरेको छ,’ वक्तव्यमा उल्लेख छ, ‘आईडीएफ (इजरायली रक्षा बल)ले गाजा सहरको नियन्त्रण लिने तयारी गर्नेछ र युद्ध क्षेत्रबाहिरका सर्वसाधारणलाई मानवीय सहायता उपलब्ध गराइनेछ ।’
उक्त योजना हाल सुरक्षा मन्त्रिपरिषद्बाट पारित भए पनि कार्यान्वयनका लागि पूर्ण मन्त्रिपरिषद्को स्वीकृति अझै आवश्यक छ । दुई सरकारी अधिकारीहरूले पूर्ण मन्त्रिपरिषद् आइतबारभन्दा अघि नबस्ने सम्भावना रहेको त्यहाँका सरकारी अधिकारीहरूको भनाइलाई उद्वरण गर्दै द टेलिग्राफले लेखेको छ ।
यो निर्णय गाजा क्षेत्रमा इजरायली सैन्य कारबाहीलाई लिएर लामो समयदेखि चलिरहेको अन्तरसंघर्ष र सेनाभित्रको असन्तुष्टिपछि आएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार इजरायली सेनाले गाजाको पूर्ण कब्जा गर्ने योजनाप्रति असहमति जनाउँदै आएको छ ।
प्रधानमन्त्री नेतन्याहुले बिहीबार दिउँसो दिएको अन्तर्वार्तामा गाजाको बाँकी २५ प्रतिशत भूभागमा सैनिक प्रवेश गर्नु नै इजरायलको सुरक्षा सुनिश्चित गर्ने एकमात्र उपाय भएको बताएका थिए ।