गाजामा इजरायली आक्रमणमा परि अलजजिराका चार पत्रकारको मृत्यु

अनलाइनसमय |
२६ साउन २०८२
गाजामा इजरायली आक्रमणमा परि अलजजिराका चार पत्रकारको मृत्यु

काठमाडौं, २६ साउन । गाजा सहरको अल–शिफा अस्पताल नजिकैको इजरायली आक्रमणमा अलजजिराका चार पत्रकार मारिएका छन् ।
अलजजिराका अनुसार सम्वाददाता अनस अल–शरीफ र मोहम्मद कुरैके, क्यामेराम्यान इब्राहिम जाहेर र मोहम्मद नुफाल अस्पतालको मुख्य गेटमा पत्रकारहरूको लागि बनाइएको टेन्टमा बसिरहेका बेला आक्रमण भएको हो ।

इजरायलको रक्षा बलले आक्रमणपछि टेलिग्राममार्फत अनस अल–शरीफलाई निशाना बनाएको पुष्टि गर्दै उनलाई हमासको एक आतङ्कवादी समूहको नेता भएको दाबी गरेको
बीबीसीले लेखेको छ । बाँकी पत्रकारबारे भने कुनै टिप्पणी गरेको छैन ।

अलजजिराका व्यवस्थापकीय सम्पादक मोहम्मद मोवादका अनुसार अल–शरीफ मान्यता प्राप्त पत्रकार थिए । उनी गाजा क्षेत्रमा भइरहेको घटनाबारे विश्वलाई जानकारी दिइरहेका थिए ।

गाजा क्षेत्रमा अन्तर्राष्ट्रिय पत्रकारलाई स्वतन्त्र रूपमा प्रवेश गर्न नदिएको कारण धेरै मिडियाले स्थानीय पत्रकारको सहायतामा समाचार संकलन गर्दै आएका छन् ।

आक्रमणअघि २८ वर्षीय अल–शरीफले सामाजिक सञ्जाल ‘एक्स’मा गाजा सहरमा भइरहेको तीव्र बमबारीबारे पोस्ट गरेका थिए ।

पत्रकार सुरक्षा समितिका अनुसार अक्टोबर २०२३ मा गाजामा सुरु भएको इजरायली सैन्य कारबाहीपछि अहिलेसम्म १८६ पत्रकारको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस