काठमाडौं, २६ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घर नभएका व्यक्तिहरूलाई तत्काल वासिङटन डीसीबाट हटाउन आदेश दिएका छन् । उनले अपराध नियन्त्रण र राजधानीलाई अझ सुरक्षित र सुन्दर बनाउने योजना सार्वजनिक गर्ने घोषणा गर्दै यस्तो आदेश दिएका हुन् ।
‘हामी तपाईंलाई बस्ने ठाउँ दिनेछौं, तर राजधानीबाट निकै टाढा, अपराधीहरूलाई हटाउनु पर्दैन – उनीहरूलाई हामी जेलमा राख्नेछौं,’ बेघरहरूको टेन्ट र फोहोरका तस्वीरसहित सामाजिक सञ्जाल ट्रुथ सोसलमा गरेको पोस्ट उद्वरण गर्दै बीबीसीले लेखेको छ, ‘अब मिस्टर नाइस गाइ हुने छैन । हामी हाम्रो राजधानी फिर्ता लिन्छौं ।’
गत महिना ट्रम्पले बेघर व्यक्तिलाई पक्राउ गर्न सजिलो हुने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यस्तै उनले संघीय सुरक्षा निकायहरू युएस पार्क पुलिस, डीईए, एफबीआई र यूएस मार्शल सेवालाई राजधानीमा तैनाथ गर्न आदेश दिए ।
राष्ट्रिय सार्वजनिक रेडियोका अनुसार शनिबार राति करिब ४५० संघीय अधिकारी खटाइएका थिए ।
मेयर मुरियल बाउजर (डेमोक्र्याट)ले ट्रम्पको दाबी अस्वीकार गर्दै भनिन्, ‘हामी अपराध वृद्धिको सामना गरिरहेका छैनौं, २०२३ मा अपराध बढेको थियो तर पछिल्ला दुई वर्षमा हिंसात्मक अपराधलाई ३० वर्षको न्यूनतम स्तरमा ल्याएका छौं ।’
अमेरिकी संघीय तथ्यांकअनुसार वासिङटन डीसीमा यो वर्ष अहिलेसम्म ९८ जनाको हत्या भएको छ । राजधानीको हत्या दर अन्य अमेरिकी शहरहरूभन्दा उच्च भए पनि समग्र हिंसात्मक अपराध दर विगत ३० वर्षकै न्यूनतममा रहेको देखिन्छ ।
राजधानीको करिब ७ लाख जनसंख्यामध्ये ३ हजार ७८२ जनालाई बेघरको रूपमा वर्गीकृत गरिएको छ, जसमा करिब ८०० सडकमा बस्नेहरू रहेका छन् । अधिकांश सार्वजनिक आवास वा आपतकालीन आश्रयस्थलमा छन् ।