काठमाडौं, २७ साउन । युक्रेनले रूसले कब्जा गरेको केही भू–भाग सुम्पेर युद्ध रोक्ने सम्भावना देखिएको छ । युरोपियन देशहरूको पहलमा तयार भएको शान्ति योजनाअन्तर्गत युक्रेनले युद्धविराम गर्न र हाल रूसको नियन्त्रणमा रहेका भू–भाग सुम्पन सहमति जनाउन सक्ने भएको हो ।
‘डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको कुनै पनि सम्झौतालाई अस्वीकार गर्नुपर्छ जसमा युक्रेनले थप क्षेत्र छोड्छ,’ युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भनाइ उद्वत गर्दै द टेलिग्राफले लेखेको छ, ‘तर रूसलाई उसले कब्जा गरेको केही भूमि राख्न अनुमति दिन सकिन्छ ।’
रूसले हाल कब्जा गरेको लुहान्स्क, डोनेट्स्क, जापोरिज्हिया, खेर्सोन र क्राइमियाको क्षेत्र अधिकार राख्न सक्ने योजना अघि बढेको छ । यो योजना अनुसार युद्धको अग्रपङ्क्ति हालको अवस्थामा स्थिर राखिने र रूसलाई उक्त क्षेत्रहरूको व्यवहारिक नियन्त्रण दिइनेछ ।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्प र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा शुक्रवार वार्ता तय छ । युक्रेन र युरोपेली मुलुकहरूलाई यस वार्तामा युक्रेनको हितविपरीत निर्णय हुन सक्ने चिन्ता छ ।