सुनिता सुवेदी,
काठमाडौं, २७ साउन । प्रविधिको युगमा सूचना प्रविधि (आईटी) क्षेत्र एउटा यस्तो बलियो अस्त्र बनेको छ, जसले विश्वलाई मात्र जोडेको छैन, विश्वकै आर्थिक संरचना नै परिवर्तन गरिरहेको छ । व्यापार, शिक्षा, सञ्चार, मनोरञ्जनदेखि जीवनका हरेक पक्षमा आईटीको उपस्थिति अभिन्न अंग बनिसकेको छ ।
आईटी क्षेत्रमा पछिल्लो समय विदेशी लगानीकर्ता नेपालमा समेत यस क्षत्रमा लगानी गर्न उत्साहित देखिएका छन् । पछिल्लो चार वर्ष यता यस क्षेत्रमा वेैदेशिक लगानी प्रतिबद्धता लगातार बढिरहेको छ ।
उद्योग विभागको तथ्याङ्क अनुसार गत आवमा विदेशी लगानीकर्ताले आईटी क्षेत्रमा ३१३ उद्योगका लागि १ अर्ब ५७ करोड ३० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएका छन् । आर्थिक वर्ष (आव) २०७८/७९ मा यस क्षेत्रमा ५२ करोड मात्र लगानी प्रतिबद्धता आएको थियो । त्यस्तै विदेशी लगानीकर्ताले आव २०७९/८० मा ७१ करोड र पछिल्लो वर्ष ८३ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता जनाएका थिए ।
उद्योग विभागका सूचना अधिकारी पशुपतीवावु पुरी लगानीको न्यूनतम सीमा हट्नु, अटोमेटिक रुटबाट लगानी स्वीकृत हुनु र थोरै लगानीबाट पनि स्थापित गर्न सकिने भएकाले आईटी क्षेत्रमा वैदेशिक लगानी बढेको बताउँछन् ।
‘पहिले कतिसम्मको लगानी गर्न पाउँछ भन्ने थियो, अहिले त्यो छैन । लगानीकर्ताले विदेशमै बसेर अनलाइनमार्फत प्रतिबद्धता जनाउन सक्छन्,’ पुरीले भने, ‘अरू क्षेत्रको तुलनामा आईटी लगानी सम्भावनाको क्षेत्र पनि भयो । थोरै लगानीमा पनि अफिस सेट– अप गर्न सकिन्छ । साथै यस क्षेत्रमा लगानी गरेपछि छोटो समयमा नै नतिजा आउँछ ।’
सरकाले आर्थिक वर्ष (आव) २०८०/८१ बाट वैदेशिक लगानीको न्यूनतम सीमा हटाएको थियो । यसअघि विदेशी लगानी एवम् प्रविधि हस्तान्तरण ऐन अनुसार सरकारले ५ करोड रुपैयाँभन्दा कम विदेशी लगानी ल्याउन नमिल्ने कानूनी व्यवस्था गरेको थियो । उक्त व्यवस्थालाई पनि संशोधन गर्दै २०७९ असोजबाट वैदेशिक लगानीको सिमा घटाएर २ करोड रुपैयाँमा ल्याएको थियो । यो पनि तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले आव २०८०/८१ को बजेटमार्फत हटाएका थिए, जसले आइटी उद्योगका साथै अन्य साना लगानीकर्तालाई लगानीका लागि प्रोत्साहन बढेको थियो ।
त्यसो त सरकारले २०८१ वैशाख १७ गतेदेखि विदेशी लगानी स्वीकृतका लागि स्वचालित मार्ग (अटोमेटिक रूट)को सुरुवात गरेको थियो । यसबाट लगानी प्रतिबद्धता आउने क्रम बढ्दो छ ।
यस्तै, आईटी विज्ञ हेमपाल श्रेष्ठले पछिल्लो समय नेपालमा विदेशी सहायक कम्पनीहरू स्थापना हुनु र नेपाली कम्पनीहरू विदेशी कम्पनीमा एक्वायर हुनुले आइटी क्षेत्रमा लगानी बढिरहेको बताए । ‘युरोपियन, अमेरिकन र अष्ट्रेलियन कम्पनीको नेपालमा ‘सब्सिडियरी’ कम्पनी छ । ती कम्पनीमा उहाँहरूले जनजक्ति बढाउन, उपकरणहरू थप्न र नयाँ काम थप्न लगानी ल्याइरहनुभएको छ,’ उनले भने ।
विदेशी कम्पनीले नेपालको आईटी कम्पनीहरूलाई आफ्नो स्वामित्वमा लिनेक्रम बढ्दा लगानी आइरकेको बताउँदै श्रेष्ठले भने, ‘केही नेपाली आईटी कम्पनी बाहिरको कम्पनीबाट एक्वायर भएका छन्, यसले विदेशी कम्पनीको लगानी नेपालमा आइरहेको छ ।’

प्रतिबद्धता अनुसार किन आउँदैन लगानी ?
नेपालमा लगानी गर्ने भनेर प्रतिबद्धता गरेको लगानीको झण्डै एक तिहाइ मात्र वैदेशिक लगानी भित्रिने गरेको तथ्याङ्कले देखाउँछ ।
विभागका अनुसार विगत १४ वर्षको अवधिमा मुलुकमा ५ खर्ब ६९ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएकोमा १ खर्ब ६२ अर्ब रुपैयाँ मात्रै लगानी भित्रिएको छ, जुन कुल प्रतियोगिताको २८ दशमलव ४७ प्रतिशत मात्र हो ।
गत आवमा ६० अर्ब ६० करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको थियो, तर लगानी भने ११ अर्ब १९ करोड मात्रै भित्रिएको छ । यो कुल प्रतिबद्धताको १८ दशमलव ४६ प्रतिशत मात्र हो ।
अधिकांश वर्षमा आएको प्रतिबद्धता अनुसार लगानी भित्रिन सकेको छैन । नेपालमा लगानी गर्ने भनेर प्रत्येक वर्ष प्रतिबद्धता बढ्दै गए पनि लगानी भने न्यून परिमाणमा भित्रिने गरेको तथ्याङ्कले देखाउँछ ।
त्यसो त उक्त तथ्याङ्कले आइटी क्षेत्रमा समेत जुन प्रतिबद्धता आएको छ, त्यसको ५० करोड लगानी भित्र्याउन पनि मुस्किल पर्छ ।
प्रतिबबद्धता अनुसार लगानी भित्र्याउन नसक्नुमा धेरै कमी कमजोरी हुन्छन् । नीतिगत अस्पष्टता, प्रक्रियागत झन्झट र सरकारी संयन्त्रमा रहेको ‘रेड टेप’ का कारण प्रतिबद्धता अनुसार लगानी भित्रिन नसकेको आईटी विज्ञ श्रेष्ठ बताउँछन् । उनले भने, ‘आइटी क्षेत्रमा जति प्रतिबद्धता छ, त्यति धेरै आवश्यक पनि पर्दैन । तर, स्पष्ट बुझाइ बिना प्रतिबद्धता हुने, पछि प्रक्रिया अघि बढ्दैन र ल्याइएको लगानीलाई पनि विधिवत् सम्मान नदिइने अवस्थाले लगानीकर्ता हतोत्साहित भएका छन् ।’
तर, यता उद्योग विभागका सूचना अधिकारी भने यसलाई अस्वीकार गर्छन् । पुरी भन्छन्, ‘लगानी प्रक्रियामा कुनै झन्झट छैन । लगानीकर्ताले निवेदन दिएको १० देखि १५ दिनमै उद्योगहरू स्वीकृत भएका छन्, यसलाई कसरी प्रक्रिया लामो भयो भन्ने ?’
प्रतिबद्धता अनुसार लगानी आउन नसकेको स्वीकार गर्दे उनले लगानीकर्ताले प्रतिबद्धता गरे पनि उनीहरूले नै तोकेको समयमा लगानी जुटाउन नसकेर आउन नसकेको बताए । ‘लगानी प्रतिबद्धता जनाएपछि उहाँहरूलाई एक वर्षको समय हुन्छ । यो समयमा थोरै रकम (१०/२० हजार डलर)को प्रतिबद्धता छ भने त्यो तुरुन्तै ल्याउनुहुन्छ । तर, त्यही दुई तीन लाखको भयो भने समय लाग्छ,’ उनले भने ।
विभागका अनुसार आर्थिक वर्ष २०६८/६९ मा ७ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता भएकोमा सो प्रतिबद्धताभन्दा बढी ९ अर्ब १९ करोड ५४ लाख रुपियाँ भित्रिएको थियो । त्यसयताको वर्षमा भने कुनै वर्ष प्रतिबद्धता बमोजिमको आधा भित्रिँदा कुनै वर्ष एक तिहाई पनि भित्रिन सकेको छैन ।
त्यस्तै आव २०६९/७० मा १९ अर्ब ८१ करोड रुपैयाँको प्रतिबद्धता भएकोमा ९ अर्ब ८ करोड अर्थात ४५ दशमलव ८४ प्रतिशत भित्रिएको छ । आव २०७०/७१ मा २० अर्ब १३ करोडको प्रतिबद्धता आएकोमा कुल प्रतिबद्धताको १५ दशमलव १५ दशमलव ८५ प्रतिशत अर्थात ३ अर्ब १९ करोड मात्र लगानी भित्रिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
आव २०७१/७२ मा ६७ अर्ब ४५ करोड रुपैयाँ प्रतिबद्धता भएकोमा ४ अर्ब ३८ करोड, आव २०७२/७३ मा १५ अर्ब २५ करोड रकम प्रतिबद्धता भएकोमा ५ अर्ब ९२ करोड रुपैयाँ लगानी भित्रिएको छ । यसको पछिल्लो तीन वर्ष लगानीमा केही सुधार देखिएको थियो । फेरि आव २०७८/७९ बाट प्रतिबद्धता आए बमोजिमको लगानी लगातार घटेको छ ।

नेपालमा आएको प्रतिबद्धता अनुसार वैदेशिक लगानी भित्र्याउन सरकारी तहबाट नीतिगत स्पष्टता, प्रक्रियागत सहजता र समयमै निर्णय कार्यान्वयन हुने वातावरण निर्माण गर्नु गर्नुपर्ने श्रेष्ठले बताए । बाहिरबाट आएको लगानी होस् या काम, त्यसलाई सहज रूपमा सञ्चालन गर्न सक्ने नीतिगत स्पष्टता र अवरोधरहित प्रक्रिया आवश्यक रहेको उनको भनाइ छ ।
‘आईटी क्षेत्रमा ठूलो पूर्वाधार नचाहिने भएकाले ठूलो लगानी पनि आवश्यक पर्दैन । हामीलाई चाहिने भनेको सामान्य विद्युत्, इन्टरनेट, दक्ष जनशक्ति र काम गर्न मिल्ने वातावरण हो,’ आईटी विज्ञ श्रेष्ठले भने, ‘बाहिरबाट आएको कामलाई पोलिसिगत रुपमा कुनै बाधा व्यवधान नपारी कामलाई सफलतापूर्वक सञ्चालन गर्ने र त्यसलाई सम्पन्न गर्ने पोलिसिगत वातावरण चाहिन्छ ।’
उद्योग विभागका सूचना अधिकारी पुरी सरकार नै वैदेशिक लगानी भित्र्याउन लागिपरेको बताउँछन् । उनले वैदेशिक लगानी बढाउन लगानी सम्मेलनदेखि नीतिगत कानुन समेत संसोधन गरेर सहज बनाएको बताउँछन् ।