काठमाडौं, २८ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन डीसीमा नेशनल गार्ड पठाएर शहरको प्रहरी नियन्त्रणमा लिएपछि मंगलबार साँझदेखि सैनिक सक्रिय भएका छन् । बीबीसीका अनुसार शहरका मुख्य बजार र पर्यटक स्थल वरिपरि उनीहरूका सवारीसाधन देखिएको हो । अमेरिकी अधिकारीका अनुसार करिब ८०० नेशनल गार्ड सैनिक र ५०० संघीय सुरक्षाकर्मी तैनाथ गरिएको बताएका छन् ।
वासिङ्टन डीसीकी मेयर म्युरियल बाउजर जो डेमोक्रेट दलकी हुन् । उनले शहरमा अपराध नियन्त्रणबाहिर गएको दाबी अस्वीकार गर्दै सैनिक परिचालनलाई तानाशाही प्रयासको संज्ञा दिएकी छन् ।
रिपब्लिकन दलका राष्ट्रपति ट्रम्पले न्यूयोर्क र शिकागो-दुवै डेमोक्रेट-नियन्त्रित शहरहरूमा पनि यस्तै कदम चाल्ने चेतावनी दिएका छन् । सोमबारको घोषणापछि क्यामुफ्लाज पोशाकमा रहेका सैनिकहरू क्रमशः राजधानी प्रवेश गर्दै सरकारी भवन बाहिर बार लगाउँदै र केही स्थानमा पर्यटकसँग तस्वीर खिच्दै देखिएका छन् ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार सोमबार राति संघीय एजेन्टहरूले २३ जना पक्राउ परेका थिए । उनीहरूको आरोप हत्या, हतियार अपराध, लागुऔषध कारोबार, अश्लील क्रियाकलाप, लापरबाहीपूर्ण ड्राइभिङ र अन्य आपराधिक गतिविधि रहेको बताइएको छ ।
‘यो केवल सुरुवात हो,’ लेभिटको भनाइलाई उद्वत गर्दै बीबीसीले लेखेको छ, ‘आगामी एक महिनाभर ट्रम्प प्रशासनले कानुन तोड्ने, सार्वजनिक सुरक्षामा खतरा पु¥याउने र निर्दोष अमेरिकीलाई जोखिममा पार्ने हरेक हिंसात्मक अपराधीलाई खोजी गरी पक्राउ गर्नेछ ।’
एफबीआई प्रमुख काश पटेलका अनुसार पक्राउ परेकामध्ये आधा घटनामा एफबीआईको संलग्नता रहेको छ ।
मेयर बाउजर र शहरका प्रहरी प्रमुख पामेला स्मिथ दुवैले संघीय सुरक्षा निकायसँग अपराध नियन्त्रणमा सहकार्य गर्ने बताएका छन् ।