‘भिजिट भिसामा गएपछि उतैको नागरिकता लिएर, उतै बिहे गरेर फर्किएपछि मन्त्री भएकाहरूले प्रश्न गर्ने ?

अनलाइनसमय |
२८ साउन २०८२
‘भिजिट भिसामा गएपछि उतैको नागरिकता लिएर, उतै बिहे गरेर फर्किएपछि मन्त्री भएकाहरूले प्रश्न गर्ने ?

काठमाडौं, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा पुर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिमाथि राजनीतिक प्रतिशोध लिएको दाबीलाई अस्वीकार गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा ओलीले सहकारी बचत हिनामिनासम्बन्धी मुद्दामा पूर्वमन्त्री, पूर्वसांसद, मेयरसहित सयौँ व्यक्तिमाथि कारबाही भइरहेको उल्लेख गर्दै एक मात्र व्यक्तिमाथि प्रतिशोध भएको दाबी तथ्यहीन भएको बताएका हुन् ।

‘एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अन्य व्यक्तिमाथि के भएको हो ? त्यो चाहिँ कानुनी कारबाही हो ? अर्बौँ रुपैयाँ अपचलन गरेको आरोपमा थुनामा रहेका सयौँ मध्ये कुन कुन व्यक्तिमाथि ‘प्रतिशोध’ भएको हो ? कुन कुन व्यक्तिमाथिको थुना जायज हो ?’ उनले प्रश्न गरे, ‘भीडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरूबाट समयले यसको जवाफ सधैँ माग्ने छ, त्यस्ताका पछि लागेर कुद्ने भीड अचम्मको मात्र होइन दयालाग्दो पनि छ ।’

ओलीले अदालत सरकारको इसारामा चल्छ भन्ने आरोप पनि अस्वीकार गरे । उनले नाम नलिई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उद्दृत गर्दै भिजिट भिसामा विदेश गएर त्यहाँको नागरिकता लिई फर्केका व्यक्तिले अरूलाई भिजिट भिसाको आधारमा आरोप लगाएको टिप्पणी गरे ।

उनले भने, ‘भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्तहरु र भिजिट भिसामा गएर उतै दुईदुई पटक बिहे गरिसकेका व्यक्तिहरुले समेत अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस