काठमाडौं, २९ साउन । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरका २ उद्योग तथा फर्मलाई २ लाख ५१ हजार रुपैयाँ जरिबाना तिराएको छ ।
विभागले बुधबार गरेको अनुगमनमा ललितपुर महानगरपालिका– १९ मा रहेको डीएमएस इन्टरप्राइजेज प्रालिले जुत्ताचप्पलमा रिलेवलिङ गर्दै गुणस्तर, परिमाण, मूल्य तथा नोपतौलमा हेरफेर गरेको पाइएपछि सो कम्पनीलाई २ लाख १ हजार जरिबाना तिराएको छ ।
यस्तै ललितपुर महानगरपालिका–२० मा रहेको स्तुपा फर्निसिङ प्रालिलाई ५१ हजार रुपैयाँ जरिबाना तिराएको हो । यस फर्मले मूल्य सूची तथा दर्ता प्रमाणपत्र नराखि कारोबार गरेपछि उक्त जरिबाना तिराइएको विभागले जनाएको छ ।
यस्तै विभागले ६ वटा कम्पनीलाई आवश्यक कागजात लिएर ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ भने ४ वटा कम्पनीलाई भने सामान्य निर्देशन दिएको छ ।
विभागले बुधबार १२ वटा उद्योग तथा फर्ममा अनुगमन गरेको थियो ।
