काठमाडौं, ३० साउन । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शुक्रबार अलास्कामा हुने बैठकलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले युद्धको सबैभन्दा खतरनाक क्षणका रूपमा लिएका छन् । यसअघि पुटिनले लामो समयदेखि अमेरिकी राष्ट्रपतिसँग प्रत्यक्ष भेट गर्ने इच्छा राख्दै आएका हुन् ।
अमेरिकी नेताले अन्तर्राष्ट्रिय रूपमा अलग्गै पारिएका नेतासँग मात्र भेट गर्ने भएकाले ट्रम्पसँगको बैठक पुटिनका लागि ठूलो राजनीतिक तथा प्रचार–विजय मानिएको द टेलिग्राफले जनाएको छ ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार पुटिनको लक्ष्य यस बैठकमार्फत युक्रेनको कब्जा गरिएका भूभागलाई वैधता दिलाउने हो । युक्रेनका राष्ट्रपति र उनका युरोपेली सहयोगीहरू भने यस्तो कदम इतिहासकै ठूलो धोका हुने चेतावनी दिँदै आएका छन् ।
गत हप्ता ट्रम्पका सहयोगी तथा हालका शान्ति दूत स्टिभ विटकफले मस्को भ्रमणपछि पुटिन युद्ध रोक्न र पूर्वी युक्रेनमा ‘भूमि साटासाट’ गर्न तयार रहेको दाबी गरेका थिए । यस दाबीपछि ट्रम्प प्रशासनले रुसमाथि लगाउन लागिएको नयाँ प्रतिबन्ध रोक्दै उच्चस्तरीय बैठकको तयारी गरेको हो ।
तर युरोपेली अधिकारीहरूले पुटिनको प्रस्तावबारे थप विवरण बुझ्दा उक्त योजना प्रारम्भिक बुझाइभन्दा धेरै फरक रहेको खुलासा भएको छ । युरोपेली अधिकारीहरूका अनुसार पुटिनले लुहान्स्क र डोनेट्स्क प्रदेशको सम्पूर्ण भूभाग मागेका छन् । यसको सट्टामा जापोरिज्जिया र खेरसोन क्षेत्रमा युद्धविराम गर्दै अग्रपंक्ति स्थिर राख्ने प्रस्ताव गरेका छन् ।