काठमाडौं, १ भदौ । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा सरकारकोे पुँजीगत खर्च कमजोर देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार चालू आवको पहिलो महिना (साउन मसान्त)मा पुँजीगत खर्च ७२ करोड रुपैयाँ भएको छ, जुन गत आवको तुलनामा २ दशमलव २५ प्रतिशतले कम हो । गत आवको साउनमा यस्तो खर्च वार्षिक बजेट विनियोजनको २ दशमलव ४३ प्रतिशत अर्थात् ८ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो ।
चालू आवका लागि सरकारले पुँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको छ । गत आवमा यस्तो बजेट ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन गरिएको थियो ।
५.७३ प्रतिशत राजस्व संकलन
गत आवको तुलनामा चालू आवमा सरकारको राजस्व संकलन पनि घटेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार गत आवको पहिलो महिनाको तुलनामा चालू आवको सोही अवधिमा राजस्व संकलन शून्य दशमलव ९५ प्रतिशत विन्दुले कम हो ।
तथ्याङ्क अनुसार चालू आवको साउनमा ८४ अर्ब ७८ करोड रुपैयाँ अर्थात् ५ दशमलव ७३ प्रतिशत संकलन भएको छ । गत वर्षको सोही अवधिमा ९४ अर्ब ७४ करोड रुपैयाँ अर्थात् ६ दशमलव ६८ प्रतिशत उठाएको थियो
सरकारले यस वर्ष १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।