नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा

अनलाइनसमय |
१ भदौ २०८२
नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा

काठमाडौं, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमा फेसबुकमार्फत प्रधानमन्त्री ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको भन्दै चाडैं सञ्चालनमा आउने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने छ ।’ हालसम्म आयोजनामा ९३ प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी दिएका छन् ।

सरकारले नागढुङ्गा सुरुङमार्ग भएर आउजाउ गर्ने प्रत्येक सवारीसाधनले तिर्नुपर्ने शुल्क समेत तोकिसकेको छ । उक्त सुरुङमार्ग भएर सङ्घीय राजधानी प्रवेश गर्ने प्रत्येक कार र भ्यानलाई ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तोकिएको छ ।

त्यस्तै, सुरुङमार्गमार्फत् काठमाण्डू आउँदा प्रत्येक मिनिबस र मिनिट्रकलाई ११५ रुपैयाँ र फर्कँदा ८० रुपैयाँ तोकिएको छ । प्रत्येक बस तथा ट्रकले भने काठमाण्डू छिर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ दस्तुर तिर्नुपर्नेछ ।

भारी उपकरणका सवारीसाधनको हकमा अलि महँगो दस्तुर तोकिएको छ । त्यस्ता सवारीसाधनले काठमाण्डू आउँदा ६०० रुपैयाँ र फर्कँदा २५० रुपैयाँ दस्तुर तिर्नुपर्ने हुन्छ । तर, मोटरसाइकल र प्रज्वलनशील इन्धन बोक्ने गाडीलाई भने सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइएको छैन ।

नौबिसे–नागढुङ्गा सुरुङमार्गमा ‘टनेल बोरिङ मेसिन’ (टीबीएम) र विस्फोटक पदार्थ प्रयोग नगरी बनाइएको हो । कुल २.६८८ किलोमिटर लम्बाइ भएको उक्त सुरुङमार्गमा ३.५ मिटर चौडाइका दुईवटा लेन र दुवैतर्फ पानी बग्ने नालीहरू बनाइएका छन् ।

चौबिसै घण्टा ’भेन्टिलेशन’ रहने भनिएको उक्त सुरुङमार्गमा आपत्कालीन उद्धार प्रणाली स्थापना गरिएको छ । अहिले सडकमा सानो अवरोध हुँदा नौबिसेबाट काठमाडौं आउन घण्टौं जाममा फस्नुपर्छ । सुरुङमार्ग सञ्चालनमा आएपछि यो समय २० मिनेटमा झर्ने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस