युद्ध अन्त्यबारे ट्रम्पसँग छलफल गर्न जेलिन्स्की यूरोपेली नेताहरूसहित अमेरिकामा

अनलाइनसमय |
२ भदौ २०८२
युद्ध अन्त्यबारे ट्रम्पसँग छलफल गर्न जेलिन्स्की यूरोपेली नेताहरूसहित अमेरिकामा

काठमाडौं, २ भदौ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग रुस–युक्रेन युद्ध अन्त्यबारे छलफल गर्न सोमबार वाशिङटन पुगेका छन् । एपी न्यूजका अनुसार उनले यसपटक आफ्ना साथमा युरोपका शक्तिशाली नेताहरू पनि लगेका हुन् ।

गत शुक्रबार ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको भेटमा युरोपेली नेताहरू समावेश थिएनन् । त्यसैले उनीहरूलाई युक्रेन र युरोपको सुरक्षाबारे सुनिश्चित गर्न यो भेट महत्त्वपूर्ण भएको हो ।

जेलिन्स्कीले यसअघि फेब्रुअरीमा ट्रम्पसँगको भेटमा अमेरिकी सैन्य सहयोगबारे पर्याप्त कृतज्ञता नदेखाएको भन्दै आलोचना भोगेका थिए । त्यसपछिको यो भेट अमेरिकासँगको सम्बन्ध र सहयोग कसरी अघि बढ्छ भन्ने परीक्षणका रूपमा पनि हेरिएको छ ।

‘अमेरिकाले युरोपसँग मिलेर युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिनु जरुरी छ, किनकि यो केवल युक्रेनको नभई सम्पूर्ण युरोपकै सुरक्षाको विषय हो,’ जेलिन्स्कीले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन् ।

तर बैठकअघि ट्रम्पले भने युक्रेनले केही सम्झौता गर्नुपर्ने संकेत गरेका छन् । उनले क्राइमियालाई युक्रेनले फिर्ता पाउन नसक्ने र नाटो सदस्यता पनि असम्भव हुने बताएका छन् ।

जेलिन्स्कीले त्यसको जवाफमा युद्ध अन्त्य गर्न चाहना सबैको साझा भए पनि शान्ति दीर्घकालीन र स्थायी हुनुपर्ने बताएका छन् । उनले २०१४ मा रुसले क्राइमिया कब्जा गरेपछि भएको अस्थायी शान्तिले उल्टै पुटिनलाई नयाँ आक्रमण गर्ने मौका दिएको स्मरण गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस