काठमाडौं, ३ भदौ । बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडले भदौ ११ गतेदेखि सर्वसाधारणलाई आईपीओ खुलाउने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसमध्ये ५ लाख ६६ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ५ लाख २९ हजार ४०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।
त्यस्तै कम्पनीले १ लाख ५८ हजार ८२० कित्ता शेयर कर्मचारीहरुका लागि र २ लाख ६४ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ ।
अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ करोड ४१ लाख ८ हजार रुपैयाँबराबरको ४३ लाख ४१ हजार ८० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा भदौ १५ गते हुनेछ भने ढिलोमा भदौ २५ गते हुनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।