काठमाडौं, ५ भदौ । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो महिनामै ६८ हजारभन्दा बढी नेपाली कामको खोजिमा विदेश गएका छन् ।
वैैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालू आवको पहिलो महिना.साउनमा वैदेशिक रोजगारीका लागि ६८ हजार ११० जनाले श्रम स्वीकृति लिएका छन्, जुन गत आवको सोही अवधिको तुलनामा १४ दशमलव ३२ प्रतिशतले बढी हो । गत आवको साउनमा ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएर विदेश गएका थिए ।
गत वर्षको तुलनामा यस वर्ष वैदेशिक रोजगारीका लागि जाने महिलाको सङ्ख्या १२ दशमलव ४८ प्रतिशतले बढेको छ । गत आवको पहिलो महिनामा ८ हजार १४५ महिलाले श्रम स्वीकृति लिएकोमा चालू आवको साउनमा ९ हजार १६२ महिलाले श्रम स्वीकृति लिएर विदेश गएका छन् ।
यस्तै चालू आवको साउनमा ५८ हजार ९४८ पुरुषले विभागबाट श्रम स्वीकृति लिएर कामका लागि विभिन्न देशमा पुगेका छन्, जुन गत आवको जेठसम्मको तुलनामा १४ दशमलव ६१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ५१ हजार ४३० पुरुषले श्रम स्वीकृति लिएका थिए ।
४४ हजारले लिए नयाँ श्रम स्वीकृति
विभागका अनुसार साउनमा नयाँ श्रम स्वीकृति लिएर ४४ हजार ४६६ जना वैदेशिक रोजगारीमा गएका छन्, जसमध्ये महिला ६ हजार ६५ र पुरुष ३८ हजार ४०१ जना छन् ।
यस्तै संस्थागतबाट २९ हजार १३० पुरुष र २ हजार ७ सय जना महिलाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका छन् । साउनमा व्यक्तिगततर्फबाट ८ हजार ५३५ पुरुष र ३ हजार २१७ महिलाले श्रम स्वीकृति लिएका छन् भने व्यक्तिगततर्फबाट पुनः श्रम स्वीकृति लिएर २३ हजार ६४४ जना वैैदेशिक रोजगारीमा गएका छन् । साथै जी.टु.जीमार्फत ८६४ जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कमा उल्ललेख छ ।
कुल श्रम स्वीकृतिको ३५ प्रतिशत युएईका लागि
पछिल्लो समय युएईमा नेपालीको आकर्षण बढ्दै गएको देखिन्छ । साउनमा ६८ हजार ११० जनाले श्रम स्वीकृति लिँदा २३ हजार ८३८ जनाले युएईका लागि श्रम स्वीकृति लिएका छन्, जुन कुल श्रम स्वीकृतिको ३५ प्रतिशत हो । साउनमा २० हजार ३५७ पुरुष र ३ हजार ४८१ महिलाले श्रम स्वीकृति लिएर युएई गएका छन् ।
नेपाली युवा रोजगारीका लागि युएईपछि सबैभन्दा धेरै कतारमा गएका छन् । यस देशका लागि साउनमा ११ हजार ५४ पुरुष र १ हजार ३० महिलाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै साउदी अरबका लागि लागि ९ हजार ८८५, मलेसिया जान ५ हजार ६३० र कुवेतका ४ हजार ७० जनाले श्रम स्वीकृति लिएका छन् ।
विभागका अनुसार साउनमा रोजगारीका लागि १ सय ५ देशमा नेपाली श्रम स्वीकृति लिएर गएका छन् ।