काठमाडौं, ५ भदौ । इजरायली सेनाले गाजा सहरमा ठूलो आक्रमण सुरु गर्न ६० हजार अतिरिक्त रिजर्भ सैनिक परिचालन गर्ने जनाएको छ । एपी न्यूजका अनुसार गाजामा खाद्यान्न, पानी र अन्य आवश्यक वस्तुको अभावका बीच स्थानीय बासिन्दाहरू सुरक्षित स्थान नपाइने डरले अझै पनि त्यहीँ बसेका हुन् ।
रक्षा मन्त्री इजरायल काट्जले स्वीकृत गरेको योजनाअनुसार धेरै जनसंख्या भएका क्षेत्रमा नयाँ चरणको सैन्य कारबाही सुरु गर्न तयारी भएको इजरायली सेनाले जनाएको छ । यस योजनाअन्तर्गत हाल सेवा गरिरहेका २० हजार अतिरिक्त सैनिकलाई पनि लामो समयसम्म ड्युटीमा राखिनेछ ।
करीब १ करोड जनसंख्या भएको इजरायलमा यो सैनिक परिचालन हालसम्मकै ठूलो मानिएको छ । यो कदम लाखौँ इजरायली नागरिकले युद्धविरामको माग गर्दै प्रदर्शन गरेपछि भएको हो । अन्तर्राष्ट्रिय समुदायले पनि गाजामा बढ्दो खाद्यान्न र औषधिको अभावबारे चिन्ता व्यक्त गरेको छ ।