काठमाडौं, ९ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ । साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका धेरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा हावाहुरीको पनि सम्भावना छ ।
आज राती देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी पहाडी र तराई भू –भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।