काठमाडौं, ९ भदौ । सरकारको ब्याज अनुदान निकासा प्रवाहित भएपछि सहुलियतपूर्ण कर्जामा असर परेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष (आव) २०८१/८२ मा यस्तो कर्जा करिब ६१ प्रतिशतले घटेको हो ।
उद्यमशील, उत्पादनशील, रोजगारी लगायत क्षेत्रको प्रवद्र्घनका लागि प्रवाह भएर बजारमा कायम सहुलियतपूर्ण कर्जा गत आवमा ६१ दशमलव २१ प्रतिशत अर्थात् ४८ अर्ब १५ करोड रुपैयाँ घटेको छ । साउनमा १ खर्ब २६ अर्ब ८१ करोड रुपैयाँ कायम रहेको ब्याज अनुदानको कर्जा गत असारसम्म आइपुग्दा घटेर ७८ अर्ब ६६ करोड रुपैयाँमा खुम्चिएको हो ।
२०८१/८२ मा बजारमा कायम ब्याज अनुदान कर्जामध्ये सबैभन्दा बढी व्यवसायिक कृषि तथा पशुपन्छी क्षेत्रमा छ । यो क्षेत्रमा बजारमा कायम कुल अनुदानको ७३ दशमलव १५ प्रतिशत अर्थात् ५७ अर्ब ५४ करोड रुपैयाँ छ । यसैगरी महिला उद्यमशीलतातर्फ २० अर्ब ९ करोड, कपडा उद्योगतर्फ ७२ करोड, दलित समुदायतर्फ १५ करोड र विदेशबाट फर्केका युवा परियोजनातर्फ १० करोड रुपैयाँ ब्याज अनुदान कर्जा बजारमा कायम रहेको तथ्याङ्क छ ।
