गत आवमा ५० अर्ब ६० करोड शेयर धितो कर्जा प्रवाह

अनलाइनसमय |
९ भदौ २०८२
गत आवमा ५० अर्ब ६० करोड शेयर धितो कर्जा प्रवाह

काठमाडौं, ९ भदौ । बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितो राखेर लिने मार्जिन प्रकृतिको कर्जाको आकार बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले शेयर धितोको जोखिम भार र बैंकहरूले ब्याजदर घटाएपछि कर्जा प्रवाह बढेको देखिन्छ ।

केन्द्रीय बैंकका अनुसार गत आर्थिक वर्ष (आव) २०८१/८२ मा मार्जिन प्रकृतिको कर्जा प्रवाह ५० अर्ब ६० करोड रुपैयाँ भएको छ । आवको पहिलो महिना साउनको तुलनामा असारसम्म आइपुग्दा मार्जिन कर्जाको प्रवाह ५६ दशमलव २ प्रतिशतले बढेको हो । साउनसम्ममा मार्जिन कर्जाको प्रवाह ९० अर्ब ९ करोड रुपैयाँ थियो भने असारसम्म १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ रहेको छ ।

गत आवमा मार्जिन प्रकृतिको कर्जामा ठूलो कर्जा लिने सबैभन्दा बढी बढेका छन् । सो अवधिमा १ करोड भन्दा बढी कर्जा लिने ७६ दशमलव ९ प्रतिशतले बढेको छ । यस्तो कर्जा आवको पहिलो महिना साउनमा ५५ अर्ब ९३ करोड रुपैयाँ प्रवाह भएको थियो भने असारसम्म आइपुग्दा बढेर ९८ अर्ब ९२ करोड रुपैयाँ कायम भएको हो ।

त्यस्तै सो अवधिमा ५० लाखदेखि १ करोडसम्मको कर्जा लिनेहरू २९ दशमलव ९ प्रतिशतले बढेको छ । यसपछि २५ लाखदेखि ५० लाखसम्म कर्जा लिनेहरू २१ दशमलव ८ प्रतिशत र २५ लाख भन्दा कम कर्जा लिनेहरू ११ दशमलव ८ प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस