काठमाडौं, ११ भदौ । झापा इनर्जी लिमिटेडले सर्वसाधरणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब भदौ २० गतेदेखि सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
यसअघि कम्पनीले पहिलो चरणमा ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ५७ हजार २९ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
दोस्रो चरणमा सामूहिक लगानी कोषहरुका लागि २८ हजार ५१४ कित्ता र कर्मचारीहरुका लागि ११ हजार ४०६ कित्ता छुट्याइ सर्वसाधारण लगानीकर्ताहरुका लागि ४ करोड ७३ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ७३ हजार ३३६ कित्ता शेयर निष्काशन गर्न लागिएको हो ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा भदौ २४ गते हुनेछ भने ढिलोमा असोज ३ गते हुने जनाइएको छ ।