काठमाडौं, ११ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि ५० प्रतिशत आयात शुल्क लागू गरेका छन् । केही हप्ता अघि ट्रम्पले रूसबाट तेल र हतियार किन्ने भारतलाई थप २५ प्रतिशत दण्डात्मक कर लगाउने घोषणा गरेका थिए ।
यससँगै भारत विश्वमै उच्च शुल्क तिर्नुपर्ने मुलुकमध्ये परेको छ । विश्लेषकहरूले यसले भारतको निर्यात र आर्थिक वृद्धिमा गम्भीर असर पार्ने चेतावनी दिएका छन् । अमेरिका हालसम्म भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहँदै आएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले शुल्कको प्रभाव कम गर्न कर कटौतीको आश्वासन दिएको बीबीसीले लेखेको छ । उनले साना व्यापारी र व्यवसायीलाई स्वदेशी अभियानलाई अघि बढाउन आग्रह गर्दै आत्मनिर्भर भारतमा जोड दिएका छन् ।
मोदीले भने, ‘हामी आत्मनिर्भर बन्नुपर्छ, यो निराशाले होइन, गर्वले हो ।’
ट्रम्पको निर्णयले भारतका निर्यातमुखी उद्योगहरू – जस्तै कपडा, हीरा, समुद्री उत्पादन लगायतमा ठूलो धक्का लाग्ने अनुमान गरिएको छ । यसले करोडौं रोजगारी प्रभावित हुने चेतावनी पनि दिइएको छ ।
भारतीय सरकारले राजस्वमा घाटा बेहोरेर पनि उपभोग वृद्धि गर्ने उद्देश्यसहित वस्तु तथा सेवा कर घटाउने तयारी गरिरहेको छ ।