काठमाडौं, १२ भदौ । पर्साको वीरगञ्जमा हैजाको प्रकोप बढ्दै गएको छ । हालसम्म ५३९ जना झाडापखालाका बिरामी अस्पताल भर्ना भएका मध्ये १३६ जनामा हैजा पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय पर्साका अनुसार हैजा संक्रमितमध्ये ५६ जना उपचारपछि डिस्चार्ज भएका छन् भने २८३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म २५७ जना झाडापखालाका बिरामी निको भई घर फर्किएका छन् ।
गएराति मात्रै थप ११४ जना नयाँ बिरामी अस्पताल भर्ना भए । स्थिति नियन्त्रणमा लिन महानगर, प्रदेश र संघीय सरकार तिनै तहका संयोजनमा सक्रिय रहेको जनाइएको छ ।
स्वास्थ्य कार्यालयले हैजा नियन्त्रणका लागि जनचेतनामूलक अभियान, खानेपानी शुद्धीकरण, औषधी आपूर्ति र दक्ष स्वास्थ्यकर्मी परिचालन भइरहेको जनाएको छ ।