प्रधानमन्त्री ओली शनिबार चीन जाँदै, यस्तो छ पाँच दिने भ्रमण तालिका

अनलाइनसमय |
१२ भदौ २०८२
प्रधानमन्त्री ओली शनिबार चीन जाँदै, यस्तो छ पाँच दिने भ्रमण तालिका

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र चीनको पाँच दिने औपचारिक भ्रमणका लागि भदौ १४ गते प्रस्थान गर्न लागेका छन् । चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा हुने यो भ्रमणका क्रममा उनले सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिनेछन् ।

परराष्ट्र मन्त्रालयले बुधबार सार्वजनिक गरेको कार्यक्रम अनुसार प्रधानमन्त्री ओलीले भ्रमणको क्रममा चीनका शीर्ष नेताहरूसँग भेटवार्ता गर्नेछन् । उनले भदौ १६ गते तियानजिनमा आयोजना हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने र सोही अवसरमा सहभागी अन्य राष्ट्र प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने योजना छ ।

यसैगरी प्रधानमन्त्री ओलीले भदौ १७ गते बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भ्रमणको अन्तिम दिन भदौ १८ गते उनले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासीवादविरोधी युद्धमा चिनियाँ जनताको विजयको ८०औं वार्षिकोत्सवमा बेइजिङमा आयोजना हुने विशेष समारोहमा उपस्थिति जनाउनेछन् ।

प्रधानमन्त्रीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सांसद पूर्णबहादुर खड्का, सांसद छविलाल विश्वकर्मा, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा तथा अन्य उच्च पदस्थ अधिकारीहरू समेत भ्रमण टोलीमा सहभागी हुनेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल भदौ १८ गते स्वदेश फर्कनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस