अगष्टमा भित्रिए साढे ८८ हजार बढी पर्यटक

अनलाइनसमय |
१७ भदौ २०८२
अगष्टमा भित्रिए साढे ८८ हजार बढी पर्यटक

काठमाडौं, १७ भदौ । एक महिनामै साढे ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल घुम्न आएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार अगष्टमा ८८ हजार ६ सय ८० जना पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा २२ प्रतिशतले बढी हो । सन् २०२४ को अगष्टमा ७२ हजार ७१७ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

पछिल्लो महिना सबैभन्दा बढी भारतीय पर्यटक नेपाल भित्रिएका छन् । अगस्टमा भारतबाट ३५ हजार ५ सय ५ जना पर्यटक नेपाल आएका छन् । चीनबाट ७ हजार ५३३, अमेरिकाबाट ६ हजार ६८, श्रीलङ्काबाट ५ हजार ९५६ र बङ्गलादेशबाट ४ हजार २६२, बेलायतबाट २ हजार ९४७ र जापानबाट २ हजार ३९९ पर्यटक नेपाल घुम्न आएका छन् ।

क्षेत्रगत रुपमा दक्षिण एसियाली (सार्क) मुलकबाट सबैभन्दा धेरै ४७ हजार १ सय ३७ पर्यटक अर्थात् कुल पर्यटक आगमनको ५३ प्रतिशत नेपाल आएका छन् । एसियाका अन्य मुलुकबाट १५ हजार ७७७ अर्थात् १७.८ प्रतिशत, युरोपबाट ११ हजार १३२ अर्थात १२.६ प्रतिशत र ओसिनियाबाट २ हजार ४३५ अर्थात २.७ प्रतिशत पर्यटक भित्रिएका छन् ।

त्यस्तै, अमेरिकाबाट ७ हजार २९३ अर्थात ८.२ प्रतिशत, मध्यपूर्वबाट ९ सय ४४ अर्थात १.१ प्रतिशत, अफ्रिकाबाट ३ सय २२ अर्थात् ०.४ प्रतिशत र अन्य मुलुकबाट ३ हजार ६ सय ४० अर्थात् ४.१ प्रतिशत पर्यटकको आगमन भएको छ ।
आठ महिनामा भित्रिए ७ लाख ३६ हजार पर्यटक

सन् २०२५ को आठ महिनामा नेपालमा विभिन्न मुलुकबाट ७ लाख ३६ हजार ७ सय ६२ जना विदेशी पर्यटक नेपाल घुम्न आएका छन् । यस वर्षको मार्चमा सबैभन्दा बढी १ लाख २१ हजार ६८७ पर्यटक आएका थिए । त्यसयता लगातार घट्दै गएको पर्यटक आगमन अगष्टमा आएर केही सुधार देखिएको छ । अप्रिलमा १ लाख १६ हजार पर्यटक आएका थिए भने मे महिनामा घटेर यो सङ्ख्या ८६ हजारमा सीमित रहयो । पर्यटक आगमन जुन र जुलाईमा पनि घट्ने क्रम निरन्तर रह्यो । जुनमा ७६ हजार ४२५ अर्पटक आउँदा जुलाईमा ७० हजार मात्रै आगमन भएको थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस