काठमाडौं, २० भदौ । झापा इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले पहिलो चरणमा ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ५७ हजार २९ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
अब कम्पनीले दोस्रो चरणमा छुट्याइ सर्वसाधारणका लागि ४ करोड ७३ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ७३ हजार ३३६ कित्ता शेयर निष्काशन गरेको हो । सामूहिक लगानी कोषहरुका लागि २८ हजार ५१४ कित्ता र कर्मचारीहरुका लागि ११ हजार ४०६ कित्ता छुट्याइएको छ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ ।निष्काशन बन्द छिटोमा भदौ २४ गते र ढिलोमा असोज ३ गतेसम्म हुनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ ।