आइतबारदेखि सर्वोच्च अदालत खुल्ने, वन्दी प्रत्यक्षीकरणकाे नियमित सुनुवाइ गर्ने

अनलाइनसमय |
२६ भदौ २०८२
आइतबारदेखि सर्वोच्च अदालत खुल्ने, वन्दी प्रत्यक्षीकरणकाे नियमित सुनुवाइ गर्ने

काठमाडौं, २६ भदाै । सर्वोच्च अदालत आइतबादेखि सञ्चालनमा आउने भएको छ। बिहीबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाइ गर्ने कार्य थाल्ने निर्णय गरेको हो।

प्रधानन्यायाधीश प्रकामानसिंह राउतले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सोही बमोजिम यस अदालतमा मिति २०८२।०५।२९ गते आइतबारदेखि वन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाइ गर्ने कार्य प्रारम्भ हुने बेहोरा आज बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकको निर्णयानुसार सर्वसाधारण सबैको जानकारीको लागि अनुरोध छ।’

गत मंगलबार जेनजी आन्दोलनकारीहरूले गरेको उग्र प्रदर्शनपछि सर्वोच्चमा आगजनी र तोडफोड भएको थियो । त्यसयता सर्वोच्चको सेवा पूर्ण रुपमा अवरुद्ध छ ।

बैठकले सर्वोच्च अदालत लगायत देशका अन्य अदालतहरुमा भएको आगजनी, ढुङ्गामुढा, तोडफोड, लुटपाटबाट अदालतका भवनहरुमा पुग्न गएको क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेको छ ।

नेपालको न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरु करिब करिब नष्ट हुन गएको विज्ञप्तिमा जनाइएको छ । ‘यस्तो विषम परिस्थितिमा पनि नेपालको संविधानले न्यायपालिकालाई सुम्पेको दायित्व निर्वहन गर्दै जनतामा निहित सार्वभौमसत्ता, संविधानवाद, विधिको शासन र मौलिक हकको प्रत्याभूति तथा न्याय प्राप्त गर्ने नागरिकको अक्षुण्ण हक प्रति सम्मान गर्दै जे जस्तो अवस्था र परिस्थिति भएपनि न्यायको मार्गमा अविचलित र दृढ रहदै आम नागरिकहरुका न्यायप्रतिको अपेक्षालाई सम्बोधन गर्न यथाशीघ्र अदालतहरु संचालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस