काठमाडौं, २९ भदौ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको विघटन अलोकतान्त्रिक र असंवैधानिक रहेको दोहोर्याएको छ । आइतबार उपसभापति पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गर्दै पार्टीको तर्फबाट ६ बुँदे धारणा सार्वजनिक गरेका हुन् ।
खड्काले प्रतिनिधिसभा विघटनको कार्यले संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठराघात भएको बताएका छन् ।
संविधान बमोजिम जनताबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रुपमा अलोकतान्त्रिक र असंवैधानिक छ,’ खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यले देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठराघात भएको छ । यसले लोकतन्त्र र संविधानलाई कमजोर गर्नुका साथै सम्मानित सर्वोच्च अदालतको पूर्ववर्ती सम्बन्धित फैसला भन्दा विपरीत छ । अविलम्ब कार्यसम्पादन समितिको बैठक बसेर प्रतिनिधि सभाको अलोकतान्त्रिक र असंवैधानिक विघटनको विपक्षमा आफ्नो स्पष्ट धारणा निर्माण गरेर सार्वजनिक गरिएको स्मरण गराउँदछौं ।’
साथै, उनले जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको वास्तविक आंकलन प्रक्रिया अविलम्ब शुरु गर्न आग्रह गरेका छन् । भदौ २३ र २४ गते भएको घटनाको सम्पूर्ण छानबिन गर्नका लागि माग गरेको स्मरण गराउँदै सरकारलाई पुनः स्मरण गरिएको बताएको विज्ञप्तिमार्फत बताएका छन् ।

