काठमाडौं, ३० भदौ । सोमबार शीतल निवासमा आयोजित एक औपचारिक समारोहमा तीन जना नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र गृह तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओम प्रकाश अर्याललाई सपथ ग्रहण गराएका हुन् ।
पूर्वसचिव रहेका खनालले अब अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् भने नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई ऊर्जा मन्त्रालयसँगै भौतिक योजना, यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।
अधिवक्ता अर्यालले गृह तथा कानुन मन्त्रालयको नेतृत्व सम्हाल्ने अवसर पाएका छन् ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत उच्च सरकारी अधिकारीहरूको पनि उपस्थिती थियो ।