काठमाडौं, ३० भदौ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले टुक्रे आयोजना र पूर्वतयारीबिनाका आयोजना अगाडि नबढाउने निर्णय गरेका छन् ।सोमबार अर्थमन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री खनालले अर्थतन्त्रको स्रोत कम भएकाले तत्कालका लागि टुक्रे आयोजना रोक्ने निर्णय गरेका हुन् ।
पदभार ग्रहण गर्दै उनले भने, ‘अबको प्राथमिकता युवाका माग पूरा गर्नुछ, निर्वाचन गर्नुछ, त्यसकारण खर्च कटौती गर्न यो निर्णय गरिएको हो ।’
अर्थमन्त्री खनालले यसअघि आर्थिक क्षेत्र सुधारका लागि आफ्नै नेतृत्वमा बनेको प्रतिवेदन पूर्ण रुपमा कार्यान्वयन गरिने प्रतिबद्धता जनाएका छन् ।
खनाललाई निवर्तमान सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्ष बनाएको थियो। सो आयोगले २०८१ चैत २९ मा प्रतिवेदन बुझाउँदै तत्कालीन सरकारलाई १ दर्जन कानुन खारेज गर्न सुझाव दिएको थियो। उनी नेतृत्वको आयोगले आर्थिक सुधारका लागि शून्य लेभलबाटै संरचनागत सुधार गर्न सिफारिस गरेको थियो। आयोगले सार्वजनिक खर्च कटौती, पुराना कानुन खारेज, आर्थिक मितव्ययितालगायत विविध क्षेत्रमा काम गर्नुपर्ने सुझाव दिएको छ।