काठमाडौं, ३१ भदौ । चालू आर्थिक वर्ष (आव)को पहिलो महिनामै (साउन) करिब पौने दुई खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले एक महिनामै १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ नेपाल पठाएका हुन् ।
यो रकम गत आवको साउन महिनाको तुलनामा २९ दशमलव ९ प्रतिशत बढि हो । गत आवको सोही अवधिमा १ खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
डलरका हिसाबले पनि विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ । समीक्षा अवधिमा २५ प्रतिशतले बढ्दै १ अर्ब २७ करोड अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्ष यो वृद्धि दर १५ दशमलव ८ प्रतिशत मात्र थियो ।