काठमाडौं, ३१ भदौ । देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि पछिल्लो समय नेपाली विद्यार्थी विदेशमा अध्ययन गर्न जानेक्रम बढ्दो छ । एक महिनामै वैदेशिक अध्ययनका लागि १४ अर्ब रुपैयाँभन्दा बढी विदेशिएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको बर्तमान आर्थिक तथा वित्तीय स्थिति चालू आव २०८२/८३ को पहिलो महिनाको तथ्याङ्कअनुसार वैदेशिक अध्ययनका लागि १४ अर्ब ३१ करोड रुपैयाँ बाहिरिएको छ, जुन गत गत आवको साउनको तुलनामा भने ४ दशमलव ३४ प्रतिशतले कम हो । आव २०८१/८२ को सोही महिनामा शिक्षातर्फको भ्रमण व्यय १४ अर्ब ९६ करोड रुपैयाँ थियो ।
शिक्षा र नेपालबाट विदेश घुमफिरमा जाने नेपालीसँगै २१ अर्ब ७० करोड रुपैयाँ विदेशिएको छ । यो अघिल्लो आवको साउनको तुलनामा २ दशमलव ८ प्रतिशतले कम हो । अघिल्लो वर्षमा यस्तो खर्च २२ अर्ब ३२ करोड रहेको थियो ।
चालू आवको साउनमा खुद सेवा आय १३ अर्ब ३९ करोडले घाटामा रहेको छ । गत आवको सोही महिनामा खुद सेवा आय १५ अर्ब ६ करोडले घाटामा रहेको थियो ।
राष्ट्र बैंकका अनुसार भ्रमणका लागि नेपाल आउने पर्यटकले नेपालमा गरेको खर्च १२ दशमलव ७ प्रतिशतले वृद्धि भई ५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आय ४ अर्ब ७७ करोड रहेको थियो ।